• Wednesday 29th of July 2026

देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताउनुभएको छ । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दशबुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु ।” राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको उहाँको भनाइ थियो ।

राजनीति गर्दा देश र जनतालाई बिर्सियो भने त्यो कदापि काम नलाग्नेसमेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो, म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु ।” साथै उहाँले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्ने आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै उक्त हल्लामा कुनै सत्यता नरहेको जानकारी गराउनुभयो ।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रहसमेत गर्नुभयो । उहाँले अहिलेको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुरा भएको बताउनुभयो ।+

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology