• Wednesday 29th of July 2026

बाजुरामा कांग्रेस महाधिवेशनको चहलपहल


  • गोकर्णेश्वर अनलाइन

मार्तडी, ५ असोज (रासस) : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन असोज ६ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताबीच चहलपहल बढेको छ । जिल्ला अधिवेशनको तयारी समिति गठनदेखि अन्य व्यवस्थापनका काममा यहाँका नेताहरु वडा केन्द्रित भएर जुटेका छन् ।

सदस्यता विवादले गएको भदौ १९ गते हुने वडा अधिवेशन अन्तिममा आएर स्थगित भएपछि नेता तथा कार्यकर्ता निराश बनेका भए पनि यो पटक भने वडा अधिवेशन पक्का हुने देखिएको छ । अधिकांश वडाहरुमा सहमतिमा नयाँ नेतृत्व चयन गरिसकिएको र घोषणा मात्र गर्न बाँकी रहेको पार्टी सभापति कविराज पण्डितले बताउनु भएको छ ।

जिल्लाबाहिर रहेका कांग्रेसका केन्द्रीय तथा जिल्ला तहका सबै नेता तथा कार्यकर्ता पनि जिल्ला भित्रिसकेका छन् ।

कांग्रेस बाजुराका शीर्षनेताहरुमध्ये केन्द्रीय सदस्य बद्री पाण्डे, पार्टी सभापति कविराज पण्डितदेखि कांग्रेस नेताहरु जनकराज गिरी, देवराज जोशी, मनबहादुर रावल, महा नेपाली, पदम शाही, रामसिंह रावल, जुना दानी, चक्रबहादुर शाह यतिखेर गाउँमै हुनुहुन्छ ।

पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का भए पनि अब भने महाधिवेशन हुनेमा नेताहरु ढुक्क भएर लागेका छन् ।

पार्टीले यही असोज ६ गते वडाको अधिवेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक फेरि तातेको छ । बाजुरामा नौवटै स्थानीय तहका ६९ वटा वडामा एकै दिन अधिवेशन हुनेछ ।

वडा अधिवेशनका लागि शीर्ष नेताहरु सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । नेताहरु अधिवेशनको दिन आ–आफ्नै वडामा हुने भए पनि आफ्नो प्रभावका लागि सबैतिर पुग्ने प्रयासमा नेताहरु देखिएका छन् । अधिवेशनको व्यवस्थापन तथा तयारीको जिम्मेवारी पाएको टिमले सुरुदेखि नै जिल्लामा रहेर तयारी गरिरहेको छ ।

एक सय बढी मतदान अधिकृत खटाइए

नेपाली कांग्रेसको १४औँ महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही असोज ६ गतेबाट सुरु हुने वडा, गाउँ÷नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र र ७औँ जिल्ला अधिवेशनका लागि जिल्ला निर्वाचन समिति बाजुराले मतदान अधिकृतहरु खटाएको छ ।

जिल्लाका ६९ वडामा एकै पटक हुने अधिवेशनका लागि निर्वाचन समितिले ६९ मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक सय ३८ जना निर्वाचनमा खटाएको निर्वाचन अधिृकत सन्तोष भण्डारीले बताउनु भएको छ ।

उहाँले ६९ वडामा मतदान अधिकृत र सहायक अधिकृत गरी एक सय ३८ जना नौ वटै पालिकामा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १८ र प्रदेश निर्वाचन क्षेत्र (क) मा तीन र प्रदेश निर्वाचन क्षेत्र (ख) मा तीनजना गरी जिल्लाका वडा, गाउँ÷नगरपालिका र प्रदेश निर्वाचन क्षेत्र गरी एक सय ६२ जना खटाइएको बताउनु भएको छ ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित उनीहरुलाई निर्वाचन आचारसंहिता, निर्देशनसहित वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रमा मतदान अधिकृत खटाएको निर्वाचन अधिकृत भण्डारीको भनाइ छ ।

जिल्ला निर्वाचन समितिले मतदान अधिकृतलाई पार्टीको विधान नियमावली, निर्वाचन कार्यविधि लगायतका सामग्री र उनीहरुलाई निर्वाचनको विषयमा प्रशिक्षण गरी प्रत्येक वडामा मतदान अधिकृत खटाइएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका ६९ वडामा असोज ६ गते वडा अधिवेशन, असोज ९ गते गाउँ÷नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेश निर्वाचन क्षेत्र अधिवेशन र असोज १६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र अर्थात् जिल्ला अधिवेशन हुने निर्वाचन समिति बाजुराका निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारीअनुसार नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनका लागि नेपाल शिक्षक सङ्घ बाजुराको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

यही असोज ६ गतेबाट जिल्लाका ६९ वटै वडामा एकै साथ वडा अधिवेशन गर्ने नेपाली कांग्रेस बाजुराले जनाएको छ । केन्द्रीय निर्देशनमा असोज ५ मा गर्ने तोकिएको भए पनि जिल्लाको भौगोलिक विकटता र निर्वाचन तयारी नपुगेकाले नेपाली कांग्रेस बाजुराले ६ गते गर्ने भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology