• Monday 27th of July 2026

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे


  • गोकर्णेश्वर अनलाइन

तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ । अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन् ।

भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तो लक्षण देखिए पनि परीक्षण गर्दा पोजेटिभ नदेखिएको अस्पतालका प्रमुख डा सुनिल पौड्यालले बताउनुभयो । उपचारमा आएका बिरामीमध्ये दैनिक ३० देखि ४० जनासम्म भारइल ज्वरोका बिरामी भेटिने गरेको उहाँले जानकारी दिनुभयो । भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तै लक्षण देखिन्छ । उहाँले भन्नुभयो, “हाँछ्यु आउने, सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने सबै लक्षण उस्तै हुन्छ तर मानिसमा सास फेर्न भने गाह्रो हुँदैन ।”

भाइरल ज्वरो मौसमी फ्लु भएकाले घरमै बसेर सामान्य उपचार गर्दा पनि निको हुन्छ । ज्वरो आएमा सिटामोल खाने, प्रशस्त पानी पिउने, आराम गर्ने, पोसिलो जुस पिउने गर्नाले यो निको हुने डा पौड्याल बताउनुहुन्छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिन कम्तीमा पाँचदेखि सात दिन लाग्न सक्छ तर भाइरल ज्वरो दुई दिनदेखि पाँच दिनभित्रमा लक्षण देखिने र सरुवा रोग भए पनि छिटो निको हुने उहाँले बताउनुभयो । दमौली अस्पतालमा सुरुसुरुका दिन ४० देखि ५० प्रतिशतसम्म कोरोना पोजेटिभ देखिए पनि अहिले १८ देखि २० प्रतिशतमा कोरोना देखापर्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी दमौली अस्पतालको सघन उपचार कक्षमा राखेर चार जना कोभिड–१९ का बिरामीको उपचार गरिँदै आएको सो अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology