• Wednesday 29th of July 2026

बालुवाटारमा सर्वदलीय बैठक सुरु


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहनुभएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखका केही कार्यप्रति असन्तुष्टि जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology