• Saturday 25th of July 2026

‘धान पाक्यो तर भित्र्याउन पाइएन’


  • गोकर्णेश्वर अनलाइन

भजनी, १५ असोज (रासस) : असोजको महिना किसानका लागि महत्वपूर्ण महिना हो । कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले १० बिघामा धानखेती गर्नुभएको छ । असारमा रोपेको धान भित्र्याइने समय भइसक्दा पनि रामबहादुरको खेतमा पानी कम भएको छैन ।
“धान पाकेर खेतमै झर्ला जस्तो भइसक्यो, मौसमले अझै साथ दिएको छैन”, उहाँ भन्नुहुन्छ, “यसरी वर्षा भइरहने हो भने त धान भित्र्याउन निकै समस्या हुने देखिएको छ । आकाशमा बादल मडारियो भने कतै पाकेको धानबाली नष्ट गर्छ कि भन्ने त्रासले मन पनि त्यसैगरी मडारिन्छ ।”

यो समयमा किसान खेतमा हुनुपर्ने भए पनि मौसमको खराबीका कारण पाकेको धान भित्र्याउन समस्या भएको छ । मौसममा सुधार नभएका कारण किसान त्रस्त छन् । जिल्लाका अधिकांश क्षेत्रमा धानको खेती हुन्छ । हिउँदे खेती कम हुने भए पनि बर्खेखेती प्रायःसबै किसानले गर्ने गरेका छन् । अहिले दैनिकजसो वर्षा हुने गरेको छ । वर्षासँगैको हावाहुरीका कारण धान खेतमै ढल्ने र पानीले तल्लो भाग गलेर पराल पनि काम नलाग्ने हुन थालेको छ ।

टीकापुर नगरपालिकाका रतिराम विकले पाँच बिघा जमिनमा धानखेती गर्नुभएको छ । दिनमा मौसम सफा भएपछि उहाँले केही धान काट्नुभयो तर राति परेको झरीले सबै काटेको धान भिजाउँदा अहिले धान र पराल कामै नलाग्ने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । “दिनमा घाम लाग्छ सुक्छ । राति पानी आउँछ फेरि भिजाउँछ”, रतिराम भन्नुहुन्छ, “काटेको धान खेतमै सड्ने भयो, नकाटेको झरेर सकिने भयो । मौसम सफा हुने कुनै छाँटकाँट देखिएकै छैन ।”

टीकापुर नगरपालिकाका किसान धनसिंह साउँदले २६ बिघा जमिनमा धानखेती गर्नुभएको छ । लामो समयदेखि कृषिमा लाग्नुभएका साउद विगतका वर्षमा यतिबेला सबै धान भित्र्याउन सक्नुहुन्थ्यो । “खेतमा धान पाकेर कालो पर्न थालिसक्यो । दैनिकको वर्षाले कतिपय ठाउँमा धान ढलेर बिग्रिसकेको छ”, साउद भन्नुुहन्छ, “यो वर्ष धान राम्रो थियो । उत्पादन राम्रो हुने अपेक्षा गरेका थियौँ । मौसमले साथ नदिएका कारण खेतमै धान नष्ट हुन थालेपछि चिन्ता बढेको छ ।”

धनसिंहपुर कृषि सहकारी संस्थाले धानको बीउ उत्पादनका लागि ४५ हेक्टरमा बिज वृद्धिका लागि धानखेती गरेको छ । बीउको धान समयमै भित्र्याउन नपाए त्यसले भोलि राम्रो उत्पादन दिन नसक्ने भन्दै सहकारीका अध्यक्षसमेत रहनुभएका साउद एक÷दुई दिनमा मौसममा सुधार नआए किसानले ठूलो क्षति बेहोर्नुपर्ने बताउनुहुन्छ । “अहिले टीकापुर क्षेत्र बिज वृद्धिमा आत्मनिर्भर भइसकेको छ । बद्लिँदो मौसमले हामीलाई समयसमयमा चुनौती थप्दै आएको छ”, उहाँ भन्नुुुहुन्छ, “बीउ उत्पादनमा लगानी पनि बढी भएको हुन्छ । समयमै भित्र्याउन नसके धान कालो हुने र बीउका लागि उपयुुक्त नहुने भएकाले पनि अहिले मौसमका कारण बीउ उत्पादनमा ह्रास आउँछ कि भन्ने चिन्ता बढेको छ ।”

जानकी गाउँपालिकामा रहेको बीज वृद्धि कृषक सहकारी संस्थाले १६३ हेक्टरमा बीज वृद्धिका लागि धानखेती गरेको छ । कैलालीकै सबैभन्दा बढी बीउ उत्पादन गर्ने उक्त संस्थाका व्यवस्थापक गोविन्दराज रावल धान खेतमै बिग्रन अवस्थामा पुगेका कारण बीज वृद्धिमा समस्या आउनसक्ने बताउनुहुन्छ ।

धान खेतमै ढलेर पानीमा सड्न थालेकाले मौसमले पनि किसानलाई नै चुनौती दिएको उहाँको भनाइ छ । “अहिलेको मौसमका कारणले बीज वृद्धिमा कमी आउने सङ्केत देखिएको छ । धान भित्र्याउने समय भए पनि किसान अझै खेतसम्म पुग्न सकेका छैनन्”, रावत भन्नुहुन्छ, “धेरै पाकेको धानलाई पनि बीउका लागि उपयुक्त मान्न सकिँदैन । समयमै धान भित्र्याउन सकिएन भने बीउका लागि रोपेको धान पनि बजारमा बिक्री गर्नुको विकल्प छैन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology