• Saturday 25th of July 2026

शीतभण्डारको आलु अनुगमन


  • गोकर्णेश्वर अनलाइन

रामपुर (पाल्पा), १६ असोज (रासस) :रामपुरको शीतभण्डारमा राखिएको आलु बिग्रिएको गुनासो बढेपछि आलुबाली विज्ञ श्याम ढकालले अनुगमन गर्नुभएको छ । तत्कालीन राष्ट्रिय आलुबाली विकास केन्द्रका वरिष्ठ आलुबाली विकास अधिकृतको रुपमा काम गर्नुभएका उहाँ अहिले उम्रिएको आलु रोप्दा उत्पादन घट्ने समस्या नरहने बताउनुहुन्छ । “आलु उम्रिहाल्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन तर आलु भण्डारणमा ढिलाइ हुँदा यो समस्या आएको हो, खनेको १५ देखि २० दिनभित्रै भण्डारण गर्नुपर्नेमा करिब दुई महिनापछि मात्रै भण्डारण हुँदा समस्या निम्तिएको हो”, आलुविज्ञ ढकाल भन्नुहुन्छ ।

देशका ठूला शीतभण्डारणमा पनि यस्तो समस्या देखिएको छ तर समयमै आलु भण्डारण नहुनु, भण्डारणको सापेक्षिक आद्रता नाप्ने मात्रा समयमै नराख्नुजस्ता कारणले समस्या देखिएको उहाँ बताउनुहुन्छ । उम्रिएको आलु बोराबाट झिकेर टुसा फालेर फेरी बोरामा भण्डारण गरी राखेमा उत्पादनमा ठूलो असर नहुने आलुविज्ञ ढकालको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “भण्डारण गरिएका आलुका बोरालाई बेला बेलामा तलमाथी पारेर राख्नुपर्ने थियो, पहिलो वर्ष सञ्चालनमा ल्याइएकाले पनि रेखदेख गर्ने नियमित दुई प्राविधिक हुनुपर्ने र भण्डारण गर्नुअगावै सरसफाइ गरेर आलु बोरामा राख्नुपर्नेमा त्यसै राखिएकाले पनि समस्या देखिएको छ ।” गत वैशाख तेस्रो सातामा सञ्चालनमा ल्याइएको यहाँको शीतभण्डारमा करिब एक हजार ४०० क्विन्टल आलु राखिएको छ । शीतभण्डार निर्माणमा भएको ढिलाइका कारण उपयुक्त समयमा आलु भण्डारण गर्न नसक्दा समस्या निम्तिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।

कृषकको आलु बिग्रिएर प्रयोग गर्न नमिल्ने भए बजार मूल्य हेरेर क्षतिपूर्तिको व्यवस्था गरिने रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ । आलु लगाउने समयसम्म शीतभण्डारमै सुरक्षित साथ भण्डारण गरेर राखिने हुँदा कृषकलाई नआत्तिन नगरपालिकाका प्रवक्ता न्यौपानेको अनुरोध छ ।

राष्ट्रिय समाचार समिति ९रासस० मा यही असोज १४ गते ‘शीतभण्डारको आलु बिग्रियो, किसानले मागे क्षतिपूर्ति’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । कृषकले भने आलुको टुसा पलाएर लामा लामा हुँदा रोप्ने समय अझै नभएकाले उत्पादनमा ह«ास आउने चिन्ता व्यक्त गरेका छन् । खेतमा धान बाली थन्क्याएर मात्रै आलु लगाइने भएकाले धान नपसाउँदै टुसाएकोे आलु भण्डारण गरेर राख्दा खाद्यतत्व सबै नाश हुने कृषक लेखनाथ रेग्मी बताउनुहुन्छ ।

बीउ आलुबाट राम्रो कमाई हुने भएकाले विगत सात वर्षदेखि व्यावसायिक आलु उत्पादन गर्नुभएकी यमकान्ती गौतम यहाँ भण्डारण गरिएको आलु लगाउन योग्य नहुने कुरा सुनेपछि चिन्तित हुनुभएको छ । “प्राविधिकले टुसाएको आलु लगाउन हुने बताए पनि अझै करिब दुई महिना आलु लगाउन बाँकी भएकाले त्यतिञ्जेलसम्म आलुको खाद्यतत्व सबै नास हुनेछ, हामी व्यावसायिक खेती गर्ने कृषकलाई ठूलो मार परेको छ, हामीलाई नबिग्रएको गुणस्तरिय बीउ आलु नै चाहिन्छ”, उहाँको माग छ ।

रामपुर क्षेत्रमा उत्पादन हुने कृषिजन्यउपजलाई सुरक्षितसाथ भण्डारण गर्नाका लागि कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको अनुदानमा रविना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले संयुक्तरुपमा रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा ठेक्का लिएर निर्माण गरेको हो ।

फरक किसिमका पाँच कोठाका साथै दुईतले दश कोठासहितको प्रशासनिक भवन, अपाङ्गमैत्री शौचालय रहेको शीत भण्डारणको दुई कोठामा आलु गरिएको छ । कृषिउपज भण्डारण गर्न प्रतिकिलो रु छ शुल्क कायम गरिएको छ । नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्र आह्वामार्फत रम्भा गाउँपालिका–१ हुँगीका भगवती अधिकारी न्यौपानेलाई रु दुई लाख पाँच हजार दिनेगरी एक वर्षको लागि रेखदेख गर्न नियुक्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology