• Wednesday 29th of July 2026

२००७ सालको क्रान्तिसँग जोडिएको सङ्गठन हो नेपाल प्रहरी : मुख्यमन्त्री पोखरेल


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल प्रहरी लोकतन्त्रका पक्षमा लडेको सङ्गठन भएको बताउनुभएको छ ।६६औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले जहानीया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षरत मुक्ति सेनालाई २००७ सालको परिवर्तन पछि नेपाल प्रहरीका रुपमा बनाइएको हो भन्नुभयो ।

स्थापनाकालदेखि नै देशमा लोकतन्त्रको स्थापनासँगै जनताको हक अधिकार स्थापित गराउन, शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको जनाउँदै उहाँले सीमित स्रोत साधनका बाबजुद पनि हरेक क्षेत्रमा यस सङ्गठनले उदाहरणीय काम गरेको बताउनुभयो ।

शान्ति सुरक्षासँगै महामारीजन्य प्रकोपमा पनि नेपाल प्रहरी अहोरात्र खटिएको स्मरण गर्दै उहाँले प्रहरी दिवसका अवसरमा देश र जनताका लागि विगतमा जस्तै खटिने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । प्रहरी नायब महानिरिक्षक दिवेश लोहनीले देश, जनता र सङ्गठनको गरिमा उचो हुने गरी नेपाल प्रहरीले योगदान दिँदै आएको बताउँदै अग्रजको प्रेरणा, कर्तव्य परायणता र गौरवमय इतिहासलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कानुनको निष्पक्ष कार्यान्वयन, शान्ति सुरक्षा र अमनचयन जस्ता कुरालाई प्राथमिकतामा राख्दै नागरिकमैत्री भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्रसहित नगद सहयोग रकम हस्तान्तरण गर्नुका साथै सेवा प्रवाहमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी र विभिन्न सङ्घ संस्थालाई सम्मान समेत गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology