• Wednesday 29th of July 2026

अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

बिहीबार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमनका क्रममा उहाँले जनअपेक्षालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने गरी खट्न निर्देशन दिनुभएको हो ।

आफ्नो नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको बाटो पहिल्याउनका लागि अनुगमनमा पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रथम चौमासिकको हालसम्मको मन्त्रालयगत प्रगतिबारे जानकारी लिनाका साथै उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकीमा सुरुमा सातवटा मन्त्रालय र पछि युवा तथा खेलकुद मन्त्रालय थप गरेर आठवटा बनाइएकामा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय छन् । दसैँ अगाडि बिना विभागीय मन्त्रीमा नियुक्त डोबाटे विश्वकर्माले मुख्यमन्त्री कार्यालयमै पदबहाली गर्नुभएको छ । साढे तीन वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ । नयाँ स्थापना भएका मन्त्रालयका लागि भवनको अभावमा साँघुरो गरी सञ्चालनमा आएका छन् । सकेसम्म सरकारी भवन नै खोज्ने नभए भाडामा भए पनि सञ्चालन गरी व्यवस्थापन गरिने मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

त्यस अवसरमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापा एवं मन्त्रालयका अधिकारीले भइरहेका काम कारबाही तथा भोग्नुपरेका समस्यालगायतमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology