• Saturday 25th of July 2026

कोदोको माग गाउँमा भन्दा बजारमा


  • गोकर्णेश्वर अनलाइन

गलकोट, २२ कात्तिक (रासस) : बागलुङमा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा पर्दछ कोदो । यतिबेला किसानलाई कोदो थन्काउन भ्याइनभ्याइ भएको छ । पछिल्लो समय कोदोको महत्व बढ्दै गएको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति स्थानीयवासीको मात्रै हैन, बजारवासी र पर्यटकको समेत आकर्षण बढेको छ ।

बागलुङका घरबास (होम–स्टे)को आकर्षणसमेत कोदोको परिकार बन्न थालेको छ । पछिल्लो समय होटल, रेष्टुराँ र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गएपछि कोदो खेतीमा पुनः बढ्न थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित सामुदायिक घरबास बेलढुङ्गा सामुदायिक घरबासमा कोदोको सेल रोटी घरबासको प्रमुख आर्कषण भएको घरबास सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताउनुभयो । बेलढुङ्गा घरबास मात्रै होइन, बागलुङका २८ सामुदायिक घरबासमा समेत कोदोको ढिँडो, रोटी निकै रुचाइएको होमस्टे सञ्चालक बताउछन् । पहाडी जिल्लाको रुपमा रहेको बागलुङमा सिँचाइ सुविधा नभएका अधिकांश स्थानमा कोदोखेती गरिन्छ । तर, विस्तारै कोदोको महत्व बढ्दै गएपछि किसानले महत्वका साथ यसको खेती गर्दै आएका छन् ।

बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकाको भिमापोखरा, ढोरपाटन, बडिगाड, निसीखोला, तमानखोला, जैमिनी र बरेङलगायतको क्षेत्रमा बढी मात्रमा कोदोखेती हुने गरेको छ भने गलकोट, बडिगाड, बलेवा, रेश लगायतको क्षेत्रमा धानखेती बढी हुने गर्दछ । तिहारको भोलिपल्ट देखिनै कोदो काट्न व्यस्त भएको बागलुङ नगरपालिका–८ सिगानाका तुलसा गौतमले बताउनुभयो । गौतमले उत्पादन गर्नुभएको कोदो केही घरमै प्रयोग हुन्छ भने केही बजारमा बिक्रीका लागि पठाइने गरेको छ ।

काठेखोला गाउँपालिका–२ भिमापोखराका किसान जगत केसीले आफूले उत्पादन गरेको कोदो बागलुङ बजारमा बिक्री हुने बताउनुहुन्छ । “पहिला गरिबले कोदोको परिकार खाने, धनीले चामलको खाना खाने प्रचलन थियो भन्छन् तर अहिले बागलुङ बजारसहित नेपालको महँगा होटल तथा रेष्टुराँमा धनीले अर्गानिक खानाको रुपमा कोदोको परिकार रुचाएको पाइएको छ” केसीले भन्नुभयो, “अहिले चलन उल्टो भएको छ, ठूला होटलमा कोदोको परिकार पाक्छ, गाउँमा बरु कोदो बेचेर चामल खरिद गर्ने प्रचलन अझै छ ।”

जिल्लामा धानबालीलाई प्रमुख खेतीको रुपमा मान्दै आए पनि बागलुङमा भने कोदोखेती प्रमुख अन्नबाली रहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले जानकारी दिनुभयो । कार्यालयले रैथाने बाली कोदो संरक्षण र पवद्र्धन गर्न समेत थालेको छ । गतवर्ष मात्रै बागलुङमा रैथाने बाली कोदोको संरक्षण र प्रवद्र्धनका लागि मात्रै १५ लाख खर्च भइसकेको केन्द्र प्रमुख भट्टराइले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा कोदोको संरक्षणका लागि रु तीन लाख बजेट रहेको छ ।

यस्तै ग्रामीण पोषण कार्यक्रम अन्तर्गत मुख्यतः कोदो बालीलाई नै विस्तार प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य कार्यालयसँग मिलेर रु ३० लाखको योजना कार्यान्वयन गरिने कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

“बागलुङको प्रमुख कोदोबाली संरक्षण गर्दै यसको उत्पादन बढाउँदै लैजाने उद्देश्यले कोदोबाली संरक्षण गर्न थालिएको छ”, भट्टराइले भन्नुभयो,“कोदो, फाँपर र सिस्नोमा आइरन, मिनरल बढी पाइन्छ, पोषणका लागि नभइ नहुने तत्व यसमा छ, बागलुङमा कोदोको उत्पादन बढाउन सबैको सहयोग आवश्यक छ ।”

बागलुङमा धानखेतीको तेब्बर कोदोखेती हुने गरेको तथ्याङ्कले देखाउने गरेको छ । बागलुङमा पाँच हजार ८०० हेक्टर जमिनमा धानखेती हुने गरेकोमा १८ हजार हेक्टर जमिनमा कोदोखेती गरिँदै आइएको ज्ञान केन्द्र बागलुङले जनाएको छ । पछिल्लो समय कोदोको माग सहर बजारमासमेत हुँदा कोदो किसान उत्साहित भएका छन् । हाइब्रिड धान, गहुँ, मकै भित्र्याउने किसानले कोदोको भने परम्परागत बीउ लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्र कार्यालयले कोदोको बढी उब्जनी हुने बीउवितरण गर्दै आएको छ । अहिले राम्रो कोदो उत्पादन हुने क्षेत्रका किसानलाई ३० हजार रुपैयाँ अनुदानमा कोदोको बीउ, तरकारी र फलफूलका बीउ दिने कृषि ज्ञान केन्द्र बागलुङको योजना छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology