• Wednesday 29th of July 2026

सरकार सबैलाई साथमा लिएर हिँड्छ– गृहमन्त्री खाँण


  • गोकर्णेश्वर अनलाइन

गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारले सबैलाई साथमा लिएर देश बनाउने दृढ विश्वासका साथ अगाडि बढेको बताउनुभएको छ । उहाँले साना काम गर्दा पनि समाजमा नयाँ परिवर्तन आउने भएकाले वर्तमान सरकार देश र जनताका पक्षमा क्रियाशील रहेकोसमेत बताउनुभयो ।

नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा उहाँले मुलुकका उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीको पूर्ण सुरक्षाको व्यवस्था गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।

गृहमन्त्री खाँणले प्रहरी, प्रशासनले जनतालाई शान्ति सुरक्षालगायत नागरिकको दैनिकी सहज बनाउन साथ दियो कि दिएन यसको आमनागरिकले पनि समुचित मूल्याङ्कन गर्नुपर्ने बताउँदै भन्नुभयो, “प्रहरी जनताको साथी भएकाले प्रहरीप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्छ ।”

गृहमन्त्री खाँणले प्रहरी कार्यालयमा जाने हरेक नागरिकलाई प्रहरीले सम्मानजनक व्यवहार गर्न निर्देशन दिँदै कोभिड महामारीको रोकथाममा प्रहरी प्रशासनको योगदानको सराहनासमेत गर्नुभयो । उहाँले महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सफाइकर्मी, स्वास्थ्यकर्मीलगायत सबैलाई सरकारको तर्फबाट धन्यवाद दिनुभयो ।

गृहमन्त्री खाँणले कोभिड महामारीबाट अहिले केही सहजताजस्तो भए पनि पूर्ण जोखिम अन्त्य नभएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्णरूपले पालना गर्न अनुरोध गर्नुभयो । उहाँले वर्तमान सरकारले सबैले समानरूपले राज्यको सेवा सुविधा पाउनुपर्ने मान्यता राखेरै वर्तमान सरकार बनेपछि प्रहरीको रासनमा सबै तहका प्रहरी सदस्यलाई समानरूपले लागू हुने गरी १५ प्रतिशत वृद्धि गरिएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खाँणले कांग्रेसका नेता कार्यकर्ता जनताको सेवक भएकाले जनताको सेवामा पूर्णरूपले लाग्न अनुरोध गर्नुभयो । पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा भए पनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा पार्टी जिल्ला सभापति अब्दुुल रज्जाकले मुलुकमा हरेक सङ्कटको समाधानमा कांग्रेस अगाडि आएको बताउनुभयो । सो अवसरमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिलीपकुमार कान्दु, सदस्य सञ्जय वेरिवाल, पूर्ववडाअध्यक्ष भरतसिंह विजुक्छे, रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्तासहित विभिन्न पार्टी परित्याग नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांगे्रस सिद्धार्थनगरका सभापति कोसिसबहादुर खड्काले जानकारी दिनुभयो ।

यसअघि आजै गृहमन्त्री खाँणले नेपाल महिला सङ्घ रूपन्देहीले भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology