• Saturday 25th of July 2026

पाखोबारीमा अलैँची खेती विस्तार


  • गोकर्णेश्वर अनलाइन

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमीनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन् ।

थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान दुई वर्षदेखि अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । यसअघि अर्मन र बरङ्जाका केही किसानले न्यून मात्रामा अलैँची खेती गर्दै आएका थिए । दुई वर्षसम्म परीक्षणको रूपमा गरिएको अलैँची खेती सफल भएपछि किसान त्यसतर्फ आकर्षित भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिनुभयो ।

“पहाडी क्षेत्र भएकाले अलैँचीको उत्पादन राम्रो हुन्छ की हुँदैन भन्ने थियो, तर किसानलाई यस विषयमा धेरै ज्ञान रहेछ”, उहाँले भन्नुभयो अर्मनमा मात्रै अहिले १७ कृषकले करिब ८० हजार अलैँचीका बिरुवा लगाएका छन् ।” केही किसानले मकै र कोदोको ठाउँमा अलैँचीका बिरुवा रोपेका छन् । अर्मनमा दुई वर्षमा १५ हेक्टर क्षेत्रफलमा अलैँची खेतीको विस्तार भएको मङ्गला गाउँपालिकाको कृषि शाखाले जनाएको छ । जिल्लाका मङ्गला गाउँपालिकाका साथै कुइनेमङ्गले, घार, घतान, कुहुँ, तोरीपानी, अर्मन, देवीस्थान, ताकम, दरबाङ, कुहुलगायतका ठाउँमा पनि अलैँची खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अलैँचीका लागि हावापानी उपयुक्त रहेको प्राविधिकको भनाइ छ । समुद्री सतहबाट ७०० देखि दुई हजार २०० मिटरको उचाइमा वार्षिक एक हजार ५०० देखि पाँच हजार मिलिमिटर वर्षा हुने ठाउँमा अलैँचीको उत्पादन राम्रो हुने बताइएको छ । जिल्लामा साउने जातका अलैँचीका बिरुवा बढी वितरण गरिएका छन् । जिल्लाको माथिल्लो भागमा अलैँचीको राम्रो उत्पादन हुने कृषि प्राविधिकले बताएका छन् । यी क्षेत्रमा ताप्लेजुङ, इलाम र सङ्खुवासभाको जस्तै हावापानी पाइन्छ ।

अलैँचीका लागि खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरेपुग्ने भएकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको हो । एउटा बिरुवालाई रु १० पर्ने भए पनि किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिँदै आएको मङ्गला गाउँपालिकाले जनाएको छ । सदरमुकामसम्मको ढुवानी सरकार आफैँले बेहोर्ने गर्छ । उत्पादन भएमा बजारको कुनै समस्या नभएको प्राविधिकको बुझाइ छ ।

उनीहरुका अनुसार अलैँचीको बियाँबाट मसलायुक्त सुगन्धित औषधीय तेल निस्कन्छ । उक्त तेल मिठाई, केक आदी सुगन्धित बनाउन प्रयोग गर्नुका साथै विभिन्न किसिमका औषधि बनाउन सकिन्छ । अर्मनका किसानले गत वर्ष प्रतिकिलो रु दुई हजारदेखि दुई हजार २०० सम्ममा अलैँची बिक्री गरेका छन् । अलैँची बिक्री गरेर गाउँमा रु ४० लाख भित्रिएको स्थानीय किसानले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology