• Saturday 25th of July 2026

एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि सङ्गठित सदस्यबाट रु १०० उठाउने


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ । एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङ्ले महाधिवेशनमा लाग्ने खर्च पार्टी सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले उठाइने जानकारी दिनुभयो । “महाधिवेशनमा लाग्ने खर्च यसपटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय गरेका छौ,” उहाँले भन्नुभयो, “सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँ र स्वैच्छिक १०० भन्दा बढी जति पनि दिन पाउने गरी सङ्गठित सदस्यबाट पैसा उठाउँछौ ।” एमालेका करिब सात लाख ३० हजार पार्टीका सङ्गठित सदस्य रहेको बताइएको छ ।

पार्टी मातहतका सबै कमिटीलाई सर्कुलर जारी गर्दै बैंकमा पैसा जम्मा गर्न लगाइने सचिव तामाङले बताउनुभयो । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टीले स्वतः हुने प्रतिनिधिबाट रु तीन हजार र निर्वाचनबाट छनोट गरिने प्रतिनिधिबाट रु दुई हजारका दरले महाधिवेशन शुल्क तोकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology