• Wednesday 29th of July 2026

कांग्रेसका नवनिर्वाचित भन्छन्ः पाकाको अनुभव र युवाको जोसलाई समिश्रण गर्नुपर्छ


  • गोकर्णेश्वर अनलाइन

गण्डकी, १९ मङ्सिर (रासस) : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा वडादेखि प्रदेश कार्यसमितिसम्मका अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेश कार्यसमितिको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा यतिखेर नेता तथा कार्यकर्ताको आँखा काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनमा परेको छ ।हिमालपारीका जिल्ला मनाङ र मुस्ताङसहित ११ जिल्लासम्म समेटिएको यो प्रदेशले उत्तरमा कोरला नाकाले चीनलाई छोएको छ भने दक्षिणमा त्रिवेणी नाकाले भारतलाई छोएको छ ।

हिमालदेखि पहाड हुँदै तराईलाई समेटेको यस प्रदेश राजनीतिक रुपमा पनि त्यत्तिकै चासो र चर्चामा छ । राजनीतिक चेतनाका दृष्टिले पनि यस प्रदेशले नेपालको समग्र राष्ट्रिय राजनीतिमा राम्रो छाप पारेको छ । प्रदेशका ११ वटै जिल्लामा पार्टीका युवा तथा पाका दुबै किसिमका नेताले आगामी कार्यकालका लागि नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । पार्टीको प्रदेश कार्यसमितिका सभापतिमा पाका नेता शुक्रराज शर्मा विजयी बन्नुभएको छ । एघार जिल्लामध्ये कास्कीमा किशोरदत्त बराल, स्याङ्जामा राजु थापा, बागलुङमा जीत शेरचन, तनहुँमा जीतप्रकाश आले, लमजुङमा डा टंकराज गुरूङ, मनाङमा शङ्कर गुरूङ, पर्वतमा युवराज जोशी र म्याग्दीमा खमबहादुर गर्बुजा, मुस्ताङमा रोमी गौचन थकाली र गोरखामा नन्दप्रसाद न्यौपाने सभापति पदमा निर्वाचित बन्नुभएको छ । नवलपुरमा भने पार्टीको जिल्ला अधिवेशन नै हुनसकेको छैन ।

नेपाली कांग्रेसमा युवाको आकर्षण बढिरहेको बताउनुहुने नवनिर्वाचित प्रदेश सभापति शर्मा पार्टी सङ्गठनलाई थप सशक्त बनाउनका लागि वडा तहसम्मका निर्वाचित प्रतिनिधिलाई चाँडै नै प्रशिक्षण दिइने बताउनुहुन्छ । पार्टीमा नेतृत्वदायी भूमिकामा रहनेले जनताको विश्वास जित्नुपर्नेमा जोड दिँदै उहाँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्मलाई आत्मसात् गर्दैे वडादेखि केन्द्र तहसम्मको नवनिर्वाचित नेतृत्व देश र जनताको हितमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।

“प्रशिक्षणबाट संस्कारी कांग्रेस निर्माणका लागि गण्डकी प्रदेशबाट हामीले अभियान थाल्ने छाँैं”, सभापति शर्मा भन्नुहुन्छ, “पुराना त्यागी नेताको उचित मूल्याङ्कन एवं सम्मानका साथै नयाँ युवाको जोस् र जाँगरलाई मिलाएर आम जनताले भरोसा गर्ने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्नुपर्छ ।”

पार्टीकोे १४औँ महाधिवेशनअन्तर्गत यस प्रदेशमा वडादेखि प्रदेश कार्यसमितिसम्मका नेतृत्व चयन हुँदै गर्दा युवाको उत्साहपूर्ण सहभागितासँगै उनीहरू नेतृत्वदायी भूमिकामा समेत पुगेको पार्टीका जिल्ला सभापति किशोरदत्त बराल बताउनुहुन्छ । “पार्टीमा देखिएको युवाको आकर्षणसँगै उनीहरूलाई प्रशिक्षित गरेर लैजानु वर्तमान समयको आवश्यकता हो”, उहाँ भन्नुहुन्छ, “प्रशिक्षित युवाले नै समाज र राष्ट्रको नेतृत्व गर्न सक्दछन् ।” युवाको जोस् जाँगर एवं पाका नेताको अनुभवलाई मिलाएर लैजानुका साथै युवाको आकर्षणलाई व्यवस्थित गर्न सकेमा यसले पार्टीलाई मजबुत बनाउने सभापति बरालको भनाइ छ ।

निर्वाचनमा विजयी हुन पार्टी भित्रका विभिन्न गुट तथा उपगुटमा नेता तथा कार्यकर्ता विभाजित भए पनि आगामी दिनमा निर्वाचित नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्नेमा तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित सभापति चुडामणि खनाल बताउनुहुन्छ ।“तीनवटै तहका निर्वाचन हुनलागको अवस्थामा पार्टीभित्रको आन्तरिक चुनावमा देखिएका तिक्तता मेट्न पनि तत्काल नेतृत्वतहले पहल गर्नुपर्ने देखिएको छ”, उहाँ भन्नुहुन्छ,“युवाको जोस् र पाका नेताको अनुभवलाई मिसाएर पार्टी सङ्गठनलाई थप क्रियाशील बनाउनुपर्ने वर्तमान नेतृत्वको प्रमुख जिम्मेवारी हो ।”

पार्टीको आन्तरिक अधिवेशन भड्किलो बन्दै गएको विषय चुनौतीपूर्ण देखिएको उल्लेख गर्दै सभापति खनाल पार्टी सङ्गठनलाई धनी र पहुँचवालाको मात्र नभइ आम कार्यकर्ताको पार्टी हो भन्ने सुनिश्चित गराउनुपर्ने बताउनुहुन्छ । पार्टीका वडादेखि प्रदेशसम्मका सम्पन्न अधिवेशनमा युवाको उत्साहपूर्ण आकर्षण देखिएको बताउनुहुने क्षेत्र नं २ प्रदेश(क) का सभापति दिनेश आचार्य यो आकर्षणलाई पार्टी नेतृत्वले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुहुन्छ । कांग्रेसमा देखिएको युवा आकर्षणलाई दृष्टिगत गर्दै उनीहरूको क्षमताको पहिचानसँगै त्यसको व्यवस्थापनमा लाग्नु जरुरी छ”, उहाँ भन्नुहुन्छ ,“वर्तमानमा युवालाई उत्पादन एवं आयआर्जनमा जोड्ने गरी पार्टीले पनि कार्यक्रम दिन सक्नुपर्दछ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology