• Wednesday 29th of July 2026

नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई अघि बढाएकोे छ । जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म आठ स्थानीय तहमा कमिटी गठन गरिएको हो ।अहिलेसम्म डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको पार्टीका जिल्लाअध्यक्ष महादेव भट्टले जानकारी दिनुभयो ।

डिलाशैनीमा दीपक धामीको अध्यक्षतामा ५१ सदस्यीय, सिगासमा खेमसिंह धामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ भने पाटन नगरपालिकामा लोकेन्द्र विष्टको अध्यक्षतामा ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१ सदस्यीय, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५सदस्यीय, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७ सदस्यीय, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१सदस्यीय, मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो । गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मङ्सिर महिनाभित्र नेतृत्व चयन गरिने जनाइएको छ ।

एमालेसँग विभाजन भएपछि उक्त पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको हो । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ । मङ्सिरमा सबै पालिकामा सङ्गठन विस्तार गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अघि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष ठगुन्नाले बताउनुभयो । एमाले रहँदा महादेव भट्ट अध्यक्ष रहेको १५१ सदस्यीय समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियोे ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology