• Thursday 30th of July 2026

कांग्रेसले मुलुकलाई कुनै पनि दुर्घटनामा पर्न दिँदैन : गगन थापा


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, २३ मङ्सिर (रासस) : नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले अबको एक वर्षसम्म मुलुकलाई कुनै पनि किसिमको दुर्घटनामा पर्न नदिने बताउनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दै नेता थापाले विसं २०७८ देखि ७८ मङ्सिरसम्म कांग्रेस नेतृत्वको सरकारले सबै प्रकारका निर्वाचन सम्पन्न गरी मुलुकलाई सही दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

“म कांग्रेसको महामन्त्रीको उम्मेदवारको रूपमा महाधिवेशनमा उभिँदा अधिवेशनपछि आउने कांग्रेसले यो परिवेशमा जनताको विश्वास जित्ने गरी अबको एक वर्ष कांग्रेसले सरकारको नेतृत्व लिँदा कुनै पनि अस्थिर सम्भावनालाई नेपालभित्र पस्न र फस्न दिँदैन । हामी मुुलुकलाई कुनै पनि खालको दुर्घटनामा पर्न दिँदैनौँ । यो संविधान र व्यवस्थालाई दुर्घटनाबाट जोगाएर सबै तहको निर्वाचन गर्दै जनतालाई केही भरोसा दिने काम गर्छौँ”, नेता थापाले भन्नुभयो ।

नेता थापाले आफू पार्टीको महामन्त्री भए पनि नभए पनि पार्टीको सक्रिय सदस्यका रूपमा बाँकी राजनीतिक जीवन क्रियाशील रहेर जनताको जीवन बदल्ने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, “म भोलि पार्टीको महामन्त्री हुन्छु वा हुन्न थाहा छैन । मेरो राजनीतिक यात्रा पदीय जिम्मेवारी कहाँ पुगेर टुङ्गिन्छ, त्यो पनि थाहा छैन । जहाँ पुगोस् यति मात्रै थाहा छ, आगामी १५–१६ वर्ष म कांग्रेसको सक्रिय सदस्य रहन्छु । मेरा दुई छोरी छन् उनीहरु २०–२१ वर्षको हुँदा भोलि म देशको कुनै कुनामा हिँडिरहँदा मायाले ‘जय नेपाल’ भनिदिए हुन्छ, मलाई भूतपूर्वमन्त्री वा विभिन्न पदवी चाहिँदैन मलाई मायाले बोलाइदिने वातावरण भए मेरा छोरीलाई पनि आभास हुन्छ की मेरो बाबुले त्याग गरेको रहेछ । त्यत्ति भए मेरो राजनीतिक जीवन सार्थक हुन्छ ।”

नेता थापाले पार्टीले अङ्गिकार गरेको प्रजातान्त्रिक समाजवाद, बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट देशको आर्थिक सामाजिक विकास गर्ने नीतिअनुरुप जनतालाई परिवर्तनका आभास दिलाउन कांग्रेस सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । कांग्रेसले नेतृत्व गरेको सरकारको पालामा भएका राम्रा कामको पनि प्रचारप्रसार हुन नसक्दा निरासा पैदा भएको उहाँको भनाइ छ । संविधान बने पनि जनआकाङ्क्षा पूरा नभएको र जनताले व्यवस्थामाथि नै आशङ्का गर्ने अवस्था आएको भन्दै नेता थापाले कांग्रेसले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लोकतन्त्र, सङ्घीयता, संविधान, गणतन्त्र समावेशीतालगायत उपलब्धी र व्यवस्थामाथि उब्जेका संशयहरुमाझ नेपाली राजनीतिका आगामी यात्रा असहज देखिएको भन्दै नेता थापाले अहिलेको परिस्थितिमा विकसित भइरहेका चुनौतीपूर्ण घटनाक्रमलाई सही अवतरण नगर्ने हो भने पार्टी र देश दुवैको यात्रा सुगम नहुने प्रष्ट पार्नुभयो । उहाँले यस्तो संवेदनशील घडीमा भइरहेको पार्टीको महाधिवेशनले कांग्रेस पार्टीका वैचारिक र साङ्गठनिक पुनःजागरण र रूपान्तरणमार्फत जनतामा पुनः आशाको सन्देश दिन सक्नुपर्ने खाँचो औँल्याउनुभयो ।

‘समुन्नत नेपाली, सम्मानित नेपाली’ अवधारणा सार्वजनिक

पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले नेपाली कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाली, सम्मानित नेपाली’ हुने बताउनुभएको छ । नेता थापाले विसं २०७८ पछि पार्टीको कार्यदिशा कस्तो हुने भनेर कांग्रेसका कार्यदिशासहितको अवधारणा पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले पार्टी पुनःजागरण र रूपान्तरणका लागि प्रस्तावित कार्यदिशा अघि सार्दै कांग्रेसको महामन्त्री कुर्सीमा मात्र बस्ने नभई कांग्रेसको कार्यदिशाको प्रस्तावक पनि हूँ भन्न्नुभयो । “कांग्रेसको महामन्त्री केवल कुर्सीमा बस्ने मात्र होइन, कांग्रेसको राजनीतिक लाइन र कार्यदिशाको प्रस्तावक पनि हो । पार्टीको लाइनको, कार्यदिशाको प्रस्तावक पनि हो । महामन्त्रीको कुर्सी कुनै बेला गणेशमान सिंह, सूर्यप्रसाद श्रेष्ठ, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो”, नेता थापाले भन्नुभयो ।

समुन्नत नेपाल कुनै गन्तव्य नभएको भन्दै यो निरन्तरको यात्रा हुने पनि उहाँले बताउनुभयो । कांग्रेसले समुन्नत नेपाल र सम्मानित नेपाली कार्यदिशामा अघि बढेपछि पार्टी आफैँ बलियो बन्ने र नागरिक पार्टीमा जोडिँदै आउने बताउनुभयो । उहाँले भन्नुभयो, “समुन्नत नेपाल कुनै गन्तव्य हैन यो निरन्तरको यात्रा हो । अबको पाँच वर्षपछि नेपाल कति सम्मुनत बन्यो, समृद्धि हासिल गर्यो समीक्षा गर्नुपर्ने हुन्छ । जनताको दैनिकी र जीवन पद्धति बदलिए मात्रै समृद्धिको आभास हुन्छ ।”

उहाँले भन्नुभयो, “हाम्रो राजनीतिक कार्यदिशा सामाजिक लोकतन्त्रको हो । सामाजिक लोकतन्त्रको सैद्धान्तिक कार्य प्रणालीले उदार लोकतन्त्रको अभ्यास गर्छ । निर्वाचित सरकार जवाफदेहिता हुनुपर्छ, संविधानले दिएको कुरा उल्लङ्घन गर्दैन सामाजिक लोकतन्त्रले समानतालाई मूल मन्त्र मान्दछ । महिला, दलित अल्पसङ्ख्यकलगायतको सवाललाई उजागर गर्छ ।”

उहाँले गौरवशाली इतिहास मात्र होइन सुनौलो भविष्यको सपनालाई साकार पार्ने योजना, साहस, समर्पण भएको पुनःजागृत कांग्रेसले मात्रै मुलुकले सामना गरिरहेका यावत चुनौतीलाई सहजतापूर्वक सामना गर्दै लोकतान्त्रिक संविधानका उपलब्धिलाई संस्थागत गरेर सामाजिक लोकतन्त्रको सैद्धान्तिक जगमा समुन्नत नेपाल, सम्मानित नेपालीको परिकल्पनालाई साकार पार्न सक्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology