• Saturday 25th of July 2026

धानको बीउमा कमी आएपछि किसान चिन्तित


  • गोकर्णेश्वर अनलाइन

भजनी, २४ मङ्सिर (रासस) : कैलालीको भजनी नगरपालिका–८ का रामकृष्ण चौधरी आफ्नै खेतमा उत्पादन भएको बीउ प्रयोग गर्दै आउनुभएको छ । उहाँलाई अहिलेसम्म थाहा छैन, धान र गहुँको बीउ किन्न पाइन्छ !

“खेती लगाउने समयमा बीउ आफैँसँग हुन्थ्यो । कसैसँग सापटी माग्नुपर्ने अवस्था आउँदैनथ्यो”, उहाँले भन्नुभयो, “यस वर्ष बाढी र डुबानले सबै धान नष्ट भयो । आउँदा वर्ष खेतमा के रोप्ने भन्ने चिन्ता छ ।”

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कमान्ड क्षेत्रभित्र मात्रै अहिले १२ वटा बीउ उत्पादन गर्ने कृषि सहकारी संस्था छन् । विगतमा जानकी गाउँपालिकाको बिजवृद्धि कृषक सहकारीले मात्रै बीउ उत्पादनको काम गरेको भएपनि पछिल्लो समयमा आयोजनाको काम सुरु भएपछि बीउ उत्पादनमा सहकारीलाई सघाउन थालेकाले कृषि सहकारीहरु यसतर्फ उत्साहित भएका थिए । यहाँ उत्पादन भएको उन्नत बीउ कैलालीमा मात्रै नभई बाह्य जिल्लामा समेत निर्यात हुने गरेका थिए । तर यस वर्ष भने वर्षातका कारण बीउ उत्पादनमा निकै ह्रास आएको छ ।

विशेषगरी धानको बीउ उत्पादनमा निकै कमी आएपछि आउँदो वर्ष बीउको निकै अभाव हुने चिन्ता बढेको छ । बिज वृद्धि कृषक सहकारी संस्थाले यस वर्ष चार सय मेट्रिक टन धानको बीउ उत्पादनको लक्ष्य लिएको थियो । तर सहकारी संस्थाले दुई सय मेट्रिक टनमात्रै यसको बीउ उत्पादन गर्न सक्यो । धान काटेर सुकाउन राखेको समयमा आएको वर्षाले सबै बीउको धान बिगारेपछि उत्पादनमा ह्रास आएको सहकारी संस्थाका व्यवस्थापक गोविन्दराज रावतले बताउनुभयो । “हामीले बीउका लागि उत्पादन गरेको चार सय मेट्रिक टन धान हो । सबै वर्षातमा बिग्रेपछि करिब दुई सय मेट्रिक टन धानको बीउ मात्रै बचाउन सक्यौँ”, उहाँले भन्नुभयो, “बीउ उत्पादन गर्ने किसानलाई पनि निकै नोक्सान भएको छ । राम्रो मूल्य पाउने किसानले बजार मूल्यमा धान बेच्दा नोक्सान भएको हो ।”

त्यस्तै, धनसिंहपुर कृषि सहकारी संस्थाले यस वर्ष धानको बीउ उत्पादनका लागि ७५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । बाढीका कारण सबैभन्दा बढी क्षति पुगेको क्षेत्र धनसिंहपुरमा अधिकांश धान बाढीमै विलय भयो । बीउका लागि रोपिएको धान पनि किसानले भित्र्याउन पाएनन् । दुई सय मेट्रिक टन धानको बीउ उत्पादनको लक्ष्य लिएको सहकारीले ७५ मेट्रिक टन बीउ पनि उत्पादन गर्न नसकेको सहकारीका अध्यक्ष धनसिंह साउँदले बताउनुभयो ।

उहाँले बर्सेनि बीउ उत्पादनलाई वृद्धि गर्दै लगेको भए पनि यस वर्षको बाढी र डुबानले किसानलाई सबैभन्दा बढी क्षति भएको बताउनुभयो । “आउँदो वर्ष धानको बीउ कताबाट ल्याउने भन्ने चिन्ता छ । हुनत भारतीय बजार नजिकै भएको कारणले पनि केही किसानले भारतबाट पनि बीउ ल्याउन सक्ने अवस्था छ”, उहाँले भन्नुभयो, “बाहिरबाट र घरकै धानको बीउ रोप्दा उत्पादनमा ह्रास आउने अवस्था हुन्छ । त्योभन्दा पनि जुन धानको बीउ हामीले बाहिर पठाउथ्यौँ, त्यसमा निकै ह्रास आयो ।”

त्यति मात्र होइन, अहिले भारतीय बजारसम्म नेपालीहरुको आवागमन सहज भएपछि यहाँका कृषि सहकारी संस्थाले भण्डारण गरेको गहुँको बीउको मूल्यमा समेत कमी आएको छ । सहकारी संस्थाहरुले दिने मूल्यभन्दा भारतीय बजारमा सस्तोमा बीउ पाउन थालेपछि यहाँको बीउको मूल्यमा कमी आएको हो । सस्तोमा पाउन थालेपछि किसानले भारतीय बजारबाट गहुँको बीउ ल्याएर खेती गरेका छन् । केही बीउ बिक्री भए पनि अझै १५ मेट्रिक टन भण्डारण मै रहेको बिज वृद्धि कृषक सहकारी संस्थाका व्यवस्थापक रावतले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology