• Thursday 30th of July 2026

अहिलेको परिस्थितिमा सभापतिमा जित्नैपर्छ : देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताउनुभएको छ ।

महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू सभापति निर्वाचित हुन जरुरी रहेको उल्लेख गर्दै आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिबद्धतासमेत जनाउनुभयो ।

“हिजोको सरकार हुँदा कस्तो हालत थियो, तपाँइहरुलाई थाहा नै छ र अहिले कति हलुका भएको छ, त्यसैले अहिलेको बेला यो कांग्रेसले जित्न जरुरी छ, कांग्रेसले जितेको खण्डमा मात्रै देशलाई अघि बढाउन सकिन्छ, त्यसका लागि यो महाधिवेशन महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “सभापतिमा मैले पनि उम्मेदवारी दिएको छु, अत्यधिक बहुमतले मलाई जिताउनुभयो भने अवस्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु ।”

उहाँले आफू पार्टी सभापति भएको खण्डमा अहिलेको सरकार टिकिरहने र राष्ट्रिय निर्वाचन पनि यही सरकारले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, आफूले सभापतिमा हारेको खण्डमा नैतिक रुपमा बसिरहन मिल्दैन भनेर सबैले हल्ला गर्नेवाला छन्, त्यसैले पनि अहिलेको परिस्थितिमा सभापति जित्नैपर्ने आवश्यकता छ ।”

राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने र प्रजातन्त्रबिनाको देश कल्पना गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यो आफ्नो अन्तिम बेला भएको तथा सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नैपर्ने दबाब रहेको दोहो¥याउनुभयो ।

प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकार बनाउने बताउनुभयो । “अहिलेको परिस्थितिमा मैले कसैलाई मेरो खिलापमा मेरो विरोध गरेको होइन, तर मेरो यो अन्तिम बेला हो, आफूले सभापतिमा जितेको खण्डमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरुको सहभागितामा सरकार बनाउन सक्नेछु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान बचाउन, आदिवासी, जनजातिको हकअधिकार सुनिश्चित् गर्न, महिलालाई उचित अधिकार प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । संविधानले देशमा भएका सबै जनजातिको भावनालाई समेटेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले पनि आदिवासी, जनजातीलगायतका सबैभन्दा पछाडि परेको कर्णाली, दलित, जनजाती, मुस्लिम, महिला सबैलाई आरक्षणको व्यवस्था गरेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology