• Sunday 26th of July 2026

सेनाको निःशुल्क स्वास्थ्य शिविर : डेढ सय नागरिक लाभान्वित


  • गोकर्णेश्वर अनलाइन

सैनिक नागरिक सम्बन्ध विस्तार गरि राष्ट्रिय एकता बढाउन बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा गुल्मले दशरथचन्द नगरपालिका– २ देहिमाडौँस्थित तालिम केन्द्रमा दुई दिनसम्म शिविरको आयोजना गरेको हो ।

स्वास्थ्य शिविरबाट १४६ नागरिक लाभान्वित भएका हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले बताउनुभयो । यसका साथै तालिममा सहभागी ४० जना सेनाका कर्मचारीको पनि स्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा आर्थिक अभाव तथा अशक्तताका कारण जिल्ला अस्पताल जान नसकेका ज्येष्ठ नागरिक तथा अन्य बिरामी र बहालवाला सैनिकको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ । “नागरिक र सेनाको सम्बन्ध विस्तार गर्न स्वास्थ्य शिविरको आयोजना गरेका छौँ”, सेनानी रानाले भन्नुभयो, “हामीले स्वास्थ्य शिविरका साथै अन्य समयमा पनि सामाजिक कार्यमा पनि संलग्न हुँदै आएका छौँ । यसले नागरिक र सेनाको सम्बन्ध निकट हुन जाने विश्वास छ ।”

स्वास्थ्य कार्यालयले राष्ट्रसेवक कर्मचारीको नियमित स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत गुल्मसँग सहकार्य गरेर नागरिकको घरदैलोमै गएर शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सेनाको प्रस्तावमा हामीले राष्ट्रसेवक कर्मचारी नियमित स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सर्वसाधारण नागरिकको पनि स्वास्थ्य जाँच गरी औषधि वितरण गर्न शिविर सञ्चालन गरेका हौँ ।”

गाउँमै शिविर सञ्चालन हुँदा स्थानीय बासिन्दा खुसी भएका छन् । शिविरले आर्थिक अवस्था कमजोर भई जिल्ला अस्पतालसमेत जान नसकेकालाई सहयोग पुगेको छ । सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट गाउँमै डाक्टरको सल्लाह र जाँच गर्न पाउँदा खुसी लागेको स्थानीय विष्णुदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “घर नजिकै शिविर आयोजना गरेपछि स्वास्थ्य जाँच गर्न सजिलो भयो, सेनाले नियमितरुपमा यस्ता शिविरको आयोजना गर्दै गयो भने आगामी दिनमा पनि सजिलो हुन्थ्यो ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology