• Thursday 30th of July 2026

कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन : डा कोइराला


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताउनुभएको छ ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका डा कोइरालाले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा भए पनि पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश कांग्रेसजन र नेपाली जनताको घरदैलोमा पु-याएको बताउनुभयो । “पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो”, उहाँले भन्नुभयो ।

पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउनका लागि ऊर्जावान युवालाई लिएर आफू अगाडि बढेको कोइरालाको भनाइ थियो । निर्वाचनमा पराजित भए पनि राजनीति जितेको उहाँ बताउनहुन्छ । नेता कोइरालाले ४० प्रतिशत प्रतिनिधिले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति आफू अविचलित रहने उल्लेख गर्दै पार्टीलाई रुपान्तरण र नयाँ ढङ्गले सञ्चालन गर्नका लागि आफ्नो सम्पूर्ण टोली लाग्ने विश्वास व्यक्त गर्नुभयो । सभापतिमा पुनः निर्वाचित देउवालाई उहाँले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology