• Friday 31st of July 2026

माओवादीले राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने


  • गोकर्णेश्वर अनलाइन

नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिनुभयो ।

चिनियाँ क्रान्तिका नायक माओको जन्मजयन्तीको सन्दर्भ पारेर माओवादीले यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन आयोजना गर्नेभएको छ । माओ दिवस यही पुस ११ गते परेको छ । राष्ट्रिय सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

प्रवक्ता महराले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई त्यसतर्फ निर्देशित गर्ने उद्देश्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन लेख्दै गर्नुभएको जानकारी दिनुभयो । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकले अनुमोदन गरेपछि मात्र राष्ट्रिय सम्मेलनमा पेश हुनेछ । महाधिवशेन र राष्ट्रिय सम्मेलन फरक हुने भन्दै उहाँले राष्ट्रिय सम्मेलनले विचार र पार्टी निर्माण गर्ने बताउनुभयो ।

“नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य हो, २१औँ शताब्दीसम्म आइपुग्दा धेरै परिवर्तन भएका छन”, उहाँले भन्नुभयो, “विश्व साम्राज्यवादले लिएको नयाँ रुपलाई परास्त गर्न नयाँ क्रान्तिकारी विचार र पार्टीको आवश्यकता छ ।” सम्मेलनमा पार्टीको राजनीतिक वैचारिक अवस्थाका बारेमा गम्भीर ढंगले समीक्षा हुने उहाँले बताउनुभयो । “सामन्तवादको अवशेष उखेलेर फाल्ने ढंगबाट माओवादीको नेतृत्वमा जनयुद्ध भयो, २०६४ सालको निर्वाचनमा आम जनताको विश्वास जितेको पार्टी अहिले यो अवस्थामा आइपुगेको छ”, उहाँले भन्नुभयो, “हिजो हामी कसरी बलियो भयौँ, आज किन कमजोर भयौँ भनेर समीक्षा हुनेछ ।”

सम्मेलनमार्फत फरक ढंगबाट पार्टी निर्माण गर्ने संकल्प लिइने उहाँले बताउनुभयो । क्रातिको नयाँ कार्यभार तथा नेपाली जनताको आकांक्षा पूरा गर्न नयाँ पार्टीको आवश्यकता रहेको भन्दै उहाँले सम्मेलनले त्यसतर्फ अविचलितरुपमा लाग्ने पार्टी निर्माण गर्ने बताउनुभयो ।

एक हजार ५०० प्रतिनिधि सहभागी

सम्मेलनमा एक हजार ५०० बढी प्रतिनिधिको सहभागिता हुनेछ । सम्मेलनमा प्रदेश प्रतिनिधि ८०३, केन्द्रीय प्रतिनिधि २७, केन्द्रीय विभागबाट १०२, आयोगबाट ७५, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय सल्लाहकारबाट १४९ र आयोजक समितिका तर्फबाट १७९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसमा जनयुद्धका घाइते, अपाङ्गता भएका, पूर्वजनमुक्ति सेनाबाट पाँच प्रतिशत मनोनित गरिनेछ ।

माओवादीले राष्ट्रिय सम्मेलनको तयारीस्वरुप यसअघि सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका र प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ ।

सम्मेलनको लोगो सार्वजनिक

पत्रकार सम्मेलनमार्फत माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ । लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नारा लेखिएको छ । लोगोभित्र विश्व कम्युनिष्ट आन्दोलनका अग्रज नेताको प्रतीक राखिएको छ । यस्तै पार्टीको झण्डा र निर्वाचन चिह्न राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology