• Wednesday 29th of July 2026

संविधानले व्यवस्था गरेअनुसारनै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : सञ्चारमन्त्री कार्की


  • गोकर्णेश्वर अनलाइन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताउनुभएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण्ण राख्दै जनताका भावनाअनुसार निर्वाचन समयमा सम्पन्न हुने विश्वास दिलाउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, “हामी मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्न चाहन्छौँ, प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसद् अवरुद्ध गरेको छ, यी सबै कुरा संसद्मै छलफल हुने जनतासँग सम्बन्धित विषय हुन् ।”

संसद्लाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभई प्रमुख प्रतिपक्षीको पनि भएको बताउँदै उहाँले एमाले लामो प्रजातान्त्रिक अभ्यासबाट आएको दल हुनाले यो मुद्दालाई राजनीतिको विषय वस्तु बनाएर जनतामा भ्रम सृजना नगर्न सुझाव दिनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “निर्वाचन, आवधिक निर्वाचनको सिद्धान्त र महत्वप्रति सरकार पूर्णरुपले जानकार छ । वर्तमान सरकारले लोकतन्त्रका मूल्यमान्यता, मर्म र संविधानको भावनाअनुसार मुलुकलाई अगाडि बढाउँछ ।”

सिंहदरबारको अधिकार र सिंहदरवारले प्रदान गर्ने सेवा सुविधा स्थानीय तहमै पु¥याउने परिकल्पना संविधानले गरेको बताउँदै मन्त्री कार्कीले भन्नुभयो, “त्यो अधिकार र सेवालाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिबद्ध छ ।”

उहाँले सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनको व्यवस्था गर्ने र निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।
संविधान र कानुनमा रहेका अन्तरद्वन्द्वले केही दुविधा ल्याएकाले प्रधानमन्त्रीको उपस्थितिमा बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक सयन्त्रको बैठकमा कानुनविद्सँग पनि परामर्श भएको मन्त्री कार्कीले बताउनुभयो । उहाँले संविधान र कानुन बाझिएको हदसम्म संविधानले नै मान्यता प्राप्त गर्ने स्थापित मान्यता भएकाले ऐनलाई संविधानसम्मत मिलाएर जानुपर्छ भन्ने भएतापनि यस विषयमा छलफल चलिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology