• Sunday 26th of July 2026

माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन


  • गोकर्णेश्वर अनलाइन

स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख सङ्गीता गहतराजले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बर्थिङ सेन्टर स्थापना भई सेवा प्रवाह थालेसँगै अहिले गर्भवतीहरु नियमित स्वास्थ्य चौकीमा आउने क्रम बढेको छ ।” घरघरमै वा वालिङ, पोखरा लगायतका अस्पतालमा गएर सुत्केरी हुने गरेकामा अहिले भने गर्भवती भएदेखि नै नियमित स्वास्थ्यकर्मीको परामर्शअनुसार स्वास्थ्य परीक्षणमा आउने गरेका उहाँले जानकारी दिनुभयो ।

“गर्भवती भएदेखि नै उहाँहरुको तथ्याङ्क राखेर नियमित निगरानी र आवश्यक परामर्श गरिरहेका हुन्छौँ,” उहाँले भन्नुभयो, “बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनुभएका महिलाहरुलाई अहिलेसम्म फर्काउनुपरेको छैन ।” बजारदेखि अलिक टाढा र यातायातका दृष्टिले भनेको समयमा सवारी साधनहरु नपाइने समस्याले गर्भवतीलाई बोकेर वालिङ लैजानुपर्ने अवस्था थियो अहिले भने त्यो समस्या समाधान भएको वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिनुभयो ।

“पहिला बाटोघाटोको पनि असुविधा थियो, समयमा गाडी पाइँदैनथ्यो, लैजाँदालैजाँदै बाटोमै सुत्केरी हुने अवस्था थियो,” उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनासँगै तालिमप्राप्त नर्सले यहीँ नै सेवा दिनुहुन्छ यसले गर्दा यहाँका स्थानीयवासीलाई सहज भएको छ ।”

गत वर्षदेखि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा थप गरेसँगै घरमै सुत्केरी हुने वा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष गुरुङ बताउनुभयो । विकट र ग्रामीण भेग भएकाले स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्छ भन्ने लागेर माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा थप गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

“बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने पूर्वाधार, उपकरणहरुको व्यवस्था गरेका छौँ,” उहाँले भन्नुभयो, “अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्यकर्मीलाई तालिम दिएका छौँ जसका कारण सेवा प्रभावकारी भएको छ भने स्थानीयवासीलाई सहज पनि भएको छ ।”

माझकोट स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याइएको बर्थिङ सेन्टरका लागि स्याङ्जा परिवार दक्षिणकोरिया किम्हे बुसान शाखाले स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको शाखाका निवर्तमान अध्यक्ष जीवलाल काफ्लेले जानकारी दिनुभयो । ग्रामीण भेगमा सहज र संस्थागतरुपमा सुत्केरी गराउनका लागि आवश्यक उपकरणहरु शाखाले स्वास्थ्यचौकीलाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology