• Wednesday 29th of July 2026

कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको आज भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।

कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्रीप्रसाद पाण्डे र जीवन परियार सदस्य रहनुभएको छ ।

यसैगरी समितिमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुङ्गाना रहनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सभापति देउवाको अध्यक्षतामा सम्पन्न बैठकमा उहाँका साथ उपसभापतिद्वय खड्का र गुरुङ, तथा महामन्त्रिद्वय थापा र शर्मा केन्द्र्रीय कार्यालयमा सहभागी हुुनुहुन्थ्यो । सभापति देउवाको निर्देशनबमोजिम महामन्त्री थापाले बैठकमा प्रस्तुत गर्नुभएको समिति गठनसम्बन्धी प्रस्ताव पारित गरिएको थियो ।

कांग्रेस विधानको दफा २३ अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुने व्यवस्था छ । त्यस्तै सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३१ सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्ने विधानमा व्यवस्था भएको तर आजको बैठकमा सभापति देउवाले २४ को नाम मात्रै प्रस्तुत गर्नुभएको थियो ।

संसदीय दलको नेता र केन्द्रीय प्रवक्ता कार्यसम्पादन समितिको पदेन सदस्य हुन्छन । कांग्रेसमा हाल सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १३ पदाधिकारी छन् भने कोषाध्यक्ष र प्रवक्ता मनोनित हुन बाँकी छ । कांग्रेस संसदीय दलको नेता हाल सभापति देउवा नै भएकाले केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय बन्नेछ ।

पार्टीको १४औँ महाधिवेशनमा १३४ पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो भने ३३ सदस्य केन्द्रीय सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था छ । त्यसमध्ये सभापति देउवाले विधानबमोजिम १३ सदस्य मनोनित गरिसक्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology