• Sunday 26th of July 2026

एक्स–रे का लागि पनि अर्काे जिल्ला जानुपर्छ मनाङवासीलाई


  • गोकर्णेश्वर अनलाइन

सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ । सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म हुँदैन । जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था छैन ।

मनाङ भौगोलिक रुपमा विकट भएकाले पनि उपचारको पहुँचमा पुग्न समस्या छ । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने समस्या हलगर्न सम्बन्धित निकायलाई स्थानीयवासीको गुनासो छ । सामान्य चोटपटक लागेपछि उपचारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता हिमाली जिल्ला मनाङका स्थानीयले खेपिरहेका छन् ।

एक्स–रे, भिडियो एक्स–रे लगायतका प्राविधिक सेवा मनाङमा उपलब्ध छैनन् । यसले गर्दा यहाँ कुनै चोटपटक लागेका व्यक्ति पनि दुई÷तीन दिन लगाएर छिमेकी जिल्ला पुगी उपचार गर्नुपर्ने बाध्यता रहेको छ । सामान्य देखिएका चोटपटकको उपचारका लागि जिल्लामा मेसिन उपलब्ध रहेपनि उपयोग भने नभएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको एउटा मात्रै अस्पतालमा पनि सामान्य सेवा प्रवाह गर्न मुस्किल भएको छ । “अस्पतालमा आवश्यक चिकित्सक पनि उपलब्ध छैनन् । अस्पतालमा उपलब्ध सामग्री उपयोग गर्न सकेका छैनौँ । यस विषयमा सम्बन्धित निकाय समक्ष समेत जानकारी गराएका छौँ”, आचार्यले भन्नुभयो ।
विकट जिल्ला भीरपाखामा काम गर्ने कामदार तथा स्थानीयमा चोटपटक लागेमा अस्पतालसम्म पु¥याए पनि आवश्यक उपचार पाउन नसकेर अन्यत्र जिल्ला पु¥याउन सकिएन भने ज्यान जान सक्ने अवस्था छ । अस्पतालमा आएका बिरामीलाई सामान्यबाहेक अन्य सेवा पर्वाह गर्न नसकेको उहाँले बताउनुभयो ।

“मनाङवासीलाई समय हेलिकप्टर चाटर्ड गरेर मात्रै उपचारको पहुँचमा पुग्न सक्ने अवस्था छ । मौसम अनुकूल नभएको अवस्थामा ज्यान नै जान सक्छ । यस्तो जोखिमबाट जोगाउने उद्देश्यले प्रदेश, सङ्घ तथा स्थानीय सरकार समक्ष पहल गरिरहेका छौँ । हालसम्म सुनुवाई भने भएको छैन,” आचार्यले भन्नुभयो, “समयमै सम्बन्धित निकाय सचेत भइदिएमा जिल्लावासीलाई यहीँ नै सहज रुपमा उपचार सेवा दिन सकिनेछ ।”

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले स्वास्थ्य सेवा सहज बनाउन स्थानीय सरकारसँग पनि समन्वय भइरहेको बताउनुभयो । उहाँका अनुसार यहाँका स्थानीय सरकारले पनि प्रदेश र सङ्घीय सरकारलाई यसका लागि दबाब दिएका छन् । “जिल्ला अस्पतालमा प्राविधिकको आवश्यकता छ । अस्पतालमा मेसिन मात्रै जडान गरेर भएन । चलाउने प्राविधिकको आवश्यकता छ । यसको पूर्तिका लागि प्रदेश सरकारसमक्ष पेश गरेका छौँ । विकट जिल्ला भएकाले होला यहाँ कर्मचारी आउन नचाहेको जस्तो पनि लाग्छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको व्यवस्थापन गरोस् भनेर अपिल गरिरहेका छौँ”, प्रजिअ आचार्यले भन्नुभयो, “छिट्टै प्राविधिकको व्यवस्थापन गर्ने काममा लाग्नेछौँ ।”

स्थानीय सरकारले पटकपटक जिल्लामा कम्तीमा आधारभूत स्वास्थ्य सेवा सहज बनाउन प्रदेश र सङ्घीय सरकारसमक्ष आग्रह गरिरहेको जनाउँदै आएका छन् । समयमा सम्बन्धित निकायको ध्यान पुगेमा मनाङवासीको सकसपूर्ण सडकमार्फत अर्को जिल्लामा पुगेर उपचार गर्नुपर्ने बाध्यता हट्न सक्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology