• Wednesday 29th of July 2026

निर्वाचन घोषणाले जनप्रतिनिधि उत्साहित


  • गोकर्णेश्वर अनलाइन

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै बाँकेका जनप्रतिनिधि उत्साहित देखिएका छन् । सरकारले निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन हुने आशङ्का हटेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो ।

उहाँले स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा समेत नयाँ उत्साह आउनुपर्ने उल्लेख गर्नुभयो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार सञ्चालन गर्दै आएका जनप्रतिनिधिलाई निर्वाचनको घोषणाले खुसी तुल्याएको बताउनुभयो ।

जनतामाझ जानु नै लोकतन्त्रको सुन्दर पक्ष रहेको उल्लेख गर्दै अब वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जनताले विगतको कामको मूल्याङ्कन गरी आफ्नो मत जाहेर गर्न पाउनु सबैका लागि खुसीको कुरा भएको उहाँले बताउनुभयो ।

जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले अब नयाँ जनमतको लागि जनप्रतिनिधि तयार रहनुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन घोषणाले मुलुकलाई लोकतान्त्रिक विधिमा हिँडाउँदै संविधानको रक्षा गर्नमा सहयोग पुगेको उहाँको भनाइ छ ।

निर्वाचनको घोषणासँगै बाँकेका आठवटै स्थानीय तह र ८१ वटै वडामा राजनीतिक दलले आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । स्थानीय तह निर्वाचनको घोषणासँगै वडा तथा टोलटोलमा पार्टीको सङ्गठन सुदृढीकरण अभियान सञ्चालन सुरु गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology