• Saturday 25th of July 2026

संसदीय समितिमा गुणात्मक काम भएको छ : अध्यक्ष तिमिल्सिना


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिले कानुन निर्माणलगायत जनहितका लागि उत्साह, परिश्रम र मिहिनेतका साथ काम गरिरहेको बताउनुभएकोे छ ।

विधायन व्यवस्थापन समितिको आजको बैठकमा समितिबाट भए गरेका कामको प्रगति र अभ्यासको जानकारी लिएपछि उहाँले राष्ट्रियसभा मातहतका समितिले घनिभूत र गुणात्मक ढङ्गबाट कानुन निर्माण गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “दलहरुबीच विवादित भएका कतिपय विषय समितिले सहमतिमा टुङ्ग्याउन सफल भएको छ, यस समितिले छलफल गरी टुङ्ग्याएका कतिपय विषय राजनीतिक दलले चालु अधिवेशनमै प्रस्तुत गर्ने वातावरण बनाइदिएमा निकै राम्रो हुन्थ्यो ।” राष्ट्रियसभाले २०७५ सालमै पारित गरेर पठाएका कतिपय विधेयक प्रतिनिधिसभामा अझैसम्म अड्किरहेको घटना सुनाउँदै उहाँले अर्काे हाउसले समयमा पास गरेन भने त्यसको दोषी को हुने भनी भनी जिज्ञासा राख्नुभयो ।

विधायन समितिका सभापति परशुराम मेघी गुरुङले चार वर्षको अवधिमा समितिको ६७१ भन्दा बढी बैठक बसेर सहमतिका कैयौँ महत्वपूर्ण विधेयक अघि बढाएकोे जानकारी गराउनुभयो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रमा रहेको परम्परागत शैलीले कानुन निर्माणमा गुणात्मक परिवर्तन गर्न नसकिएको विचार प्रकट गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले कानुन निर्माणमा तोकिएबमोजिम भन्नेजस्ता प्रावधान हटाउने समितिको अभियानप्रति आफूहरु पूर्णरुपमा सचेत रहेको जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिना संसदीय समितिका काम कारबाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्नुभएको हो । विधायन व्यवस्थापन समितिमा ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि छलफल जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology