• Wednesday 29th of July 2026

समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यक : मुख्यमन्त्री राई


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताउनुभएको छ । राज्यले उनीहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

सामाजिक विकास मन्त्रालयद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले महिलाको समानुपातिक प्रतिनिधित्व थप हुनुपर्नेमा जोड दिँदै उनीहरुको सुझबुझ र श्रमबाट घरपरिवार, समाज र देशको चौतर्फी विकास हुने धारणा राख्नुभयो । समाजमा भ्रुण हत्या जस्तो अवैध कार्य भइरहेकोले सबैले यस कार्यलाई अविलम्ब रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्वास्थ्यमन्त्री जयराम यादवले महिलाले आफ्नो अधिकार मागेर प्राप्त नभएमा खोसेर लिनुपर्छ भन्नुभयो । उपसभामुख सरस्वती पोखरेलले महिलाको सङ्घर्षबाट स्थानीय पालिकामा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित भएको चर्चा गर्दै छोरीलाई उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित गराउन नहुने धारणा राख्नुभयो । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशराज दाहालले महिलामाथि हुने विभेद् अन्त्यका लागि ‘महिला मैत्री’ समाज निर्माणका लागि लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । मन्त्रालयका सचिव दीर्घराज मैनाली, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, गैरसरकारी महासङ्घका उपाध्यक्ष सीता शर्माले समाज र राष्ट्रको प्रगतिमा महिलाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

यसअघि देवकोटा चोकबाट शुरु भएको प्रभातफेरिले नगरको मुख्य मुख्य भाग परिक्रममा गरी आर्दश विद्यालयमा पुगी सभामा परिणत भएको थियो । यसैगरी आज आदर्श विद्यालको प्राङ्गणमा आयोजित खुल्ला रक्तदानको स्वास्थ्यमन्त्री यादवले रक्तदान गरी शुभारम्भ गर्नुभयो ।

मुख्यमन्त्री राई शुभकामना

यसैबीच प्रदेश नं १ का मुख्यमन्त्री राईले ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक समानता, महिला सशक्तिकरण, महिला अधिकारको सुनिश्चतताको कामना गर्नुभएको छ ।

मुख्यमन्त्री राईले ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नाराका साथ आज मनाउन लागिएको दिवसको अवसरमा संसारभरिका दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलामाथि हुने सबै किसिमका भेद्भाव तथा हिंसा अन्त्य गरी सभ्य समाज निर्माण गर्न नवीनतम् पहलका लागि हामी सबै एकजुट हौँ भन्ने आह्वान गर्दै मुख्यमन्त्री राईले नेपालको संविधानले गरेको व्यवस्था र महिला अधिकारका सम्बन्धमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्क्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology