नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाली कांग्रेसले आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनुभएको छ । स्थानीय तहमा कांग्रेसले आवश्यकता महसुस गरेको अवस्थामा मात्रै चुनावमा गठबन्धन गर्न सकिने उहाँले बताउनुभयो ।
सल्यानको छत्रेश्वरीको शङ्खमूलमा निर्माण गरिएको नेपालको सबैभन्दा ठूलो शङ्खपार्कको उद्घाटन गर्न सल्यान आइपुग्नुभएका महतले कांग्रेस एक्लै चुनाव जित्न सक्ने स्थानमा गठबन्धन आवश्यक नहुने बताउनुभयो । “चुनावमा जाने भनेको जित्नकै लागि हो, एक्लै जित्न सकिन्छ भने त्यहाँ किन गठबन्धन गर्ने ? स्थानीयस्तरमा गठबन्धन गर्न आवश्यक भएका स्थानीय तहमा मात्र गठबन्धन गर्ने हो”, महतले भन्नुभयो ।
कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिमा छलफल गरेपछि सबै कुराको टुङ्गो लाग्ने उहाँको भनाइ थियो । उहाँले देशको समृद्धिका लागि कांग्रेस आवश्यक भएको भन्दै अब कांग्रेसले बहुमतको सरकार बनाउने गरी घरघरमा पुगेको बताउनुभयो । “कम्युनिष्टले ५० वर्ष एकलौटी सरकार चलाउछौँ भन्थे तर तीन वर्ष पनि टिक्न सकेनन्, हावादारी कुरा गरेर सत्ता टिकाउन सकिँदैन भनेर थाहा भइहाल्यो नि, अबको जिम्मा कांग्रेसले लिन्छ”, महतले भन्नुभयो ।
महतले देशमा अनुदान लिन हुँदैन भनेर विषयलाई विषयान्तर गरेर विवाद सिर्जना गरेको भन्दै एमालेकै पालमा एमसिसी अगाडि बढेको बताउनुभयो । “नेपालका लागि एमसिसी हितमा छ, यस्ता अनुदान नेपालले धेरै लिएको छ, अनुदान नलिए देश चलाउन ऋण लिनुपर्छ, अहिले केपी ओलीको सरकारको पालामा देशलाई सबैभन्दा बढी ऋण लागेको छ”, महतले भन्नुभयो ।
नेपालमा लागू भएका अन्य अनुदानमा अन्तर्राष्ट्रिय कानून लागेको भन्दै महतले अन्य परियोजनामा विदेशी कामदार आएर काम गरेको प्रशस्त उदाहरण भएको जिकिर गर्नुभयो । “एमसिसी अनुदान नेपालका हितमा छ, यसमा पनि अन्तर्राष्ट्रिय कानूनअनुसार ठेक्कापट्टा हुन्छ, यी कुरा नेपालमा पहिलेदेखि भइरहेकाले नयाँ होइन तर यसलाई अपव्याख्या गरेर चुनावी नारा बनाउन खोजियो, त्यो कांग्रेसले पूरा हुन दिएन”, प्रवक्ता महतले भन्नुभयो ।
