• Wednesday 29th of July 2026

स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ : प्रधानमन्त्री देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।

“स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।”

वर्तमान सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर अघि बढीसकेको तथा निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने प्रधामन्त्री देउवाले स्पष्ट पार्नुभयो । चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग र सहकार्यबाट मात्रै सम्भव रहेको उहाँले बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो सहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथि आफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा पुल निर्माण गरेको र अरु पुल अहिले पनि निर्माणको क्रममा रहेको बताउनुभयो । ढिलै भए पनि एमसिसी पास भएको छ, यसले नेपालमा समृद्धि ल्याउन र विकास निर्माणमा सहयोगी हुने विश्वास उहाँको छ । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनसम्म अहिले रहेको गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयो । उहाँले देशलाई प्रतिगमनकारीबाट बचाउनका लागि पाँच दलीय गठबन्धन जरुरी रहेको बताउनुभयो । कालीगण्डकी सभ्यताको संरक्षणका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै उहाँले डाइभर्सन हुनै नदिने धारणा व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री मीनेन्द्र रिजालले हरेक परिवर्तनको नेतृत्व नेपाली कांग्रेस पार्टीले गरेको बताउनुभयो । उहाँले जब देश जटिल अवस्थामा पर्छ, त्यतिबेला नेपाली कांग्रेसको नेतृत्वले देशलाई निकास दिने काम गरेको बताउनुभयो । आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन नेता कार्यकर्तालाई पूर्वमन्त्री रिजालले अनुरोध गर्नुभयो ।

गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले धार्मिक, पर्यटकीय एवं कृषिका क्षेत्रमा चापाकोटमा प्रचुर सम्भावना रहेकाले अलपत्र परेको कृषि क्याम्पस सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सिँचाइका क्षेत्रमा पनि नयाँ योजनाहरुसहित अगाडि बढेर उर्वरायुक्त भूमिलाई सिञ्चित गर्नुपर्ने बताउनुभयो ।

अघिल्लो सरकारले कालीगण्डकी डाइभर्सनको योजना अगाडि सारेर यहाँका नागरिकलाई तर्साएको नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले बताउनुभयो । चापाकोट नगरपालिका समथर र निकै सम्भावना बोकेको स्थल भएको बताउँदै विमानस्थल, कालीगण्डकी नदीमाथि पक्की पुल, यहाँसम्म पुग्नका लागि सडक निर्माणलाई जोड दिन उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । चापाकोट नगरपालिका धेरै सम्भावना बोकेको पालिका भएकाले पनि यसको विकासका लागि स्थानीय सरकार लागिपरेको नगरप्रमुख शिवकुमार गिरीले बताउनुभयो । स्थानीय सरकारले प्रदेश र केन्द्रीय सरकारसँग सहकार्य, समन्वय गर्दै विकास निर्माण गर्दै अघि बढ्ने नगरप्रमुख गिरीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology