• Wednesday 29th of July 2026

उन्नाइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ विदेशमन्त्री केहीबेरमा काठमाडौँ आउँदै


  • गोकर्णेश्वर अनलाइन

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरपछि काठमाडौँ आउँदै हुनुहुन्छ ।

कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भइरहेको परिवर्तित परिवेशमा चिनियाँ विशिष्ट अतिथिको आगमनलाई नेपाली जनताले हार्दिकतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

छिमेक सम्बन्ध थप सुदृढ, सबल एवं प्रभावकारी तुल्याउने वर्तमान सरकारको नीतिअनुसार परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा आउन लाग्नुभएका चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गर्ने कार्यक्रम छ ।

अफगानिस्तान, पाकिस्तान र भारतको व्यस्ततापूर्ण भ्रमण पूरा गरी विशेष विमानबाट काठमाडौँ उत्रनुहुने चिनियाँ विशिष्ट पाहुनाले आज राजधानीको एउटा तारे होटलमा विश्राम गर्नुहुनेछ भने शनिबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चीन– नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व गर्नुहुनेछ ।

वार्तापछि दुई देशबीच घाँस निर्यातलगायत पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारस्थित उहाँको सरकारी निवासमा शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण गर्नुहुनेछ ।

शनिबार साँझ नै परराष्ट्र मन्त्री खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नुहुनेछ । आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्नुहुनेछ ।

त्यसपछि पूर्वप्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट सकेर चिनियाँ विदेशमन्त्री वाङ अपराह्न बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology