• Saturday 25th of July 2026

मालभोग केरामा ‘पानामा’ रोगको समस्या


  • गोकर्णेश्वर अनलाइन

चितवनको रैथाने जातको रुपमा रहेको मालभोग जातको केरामा पानामा रोग देखिन थालेको छ । उक्त रोगका कारण किसानले केराको प्रजाति नै परिवर्तन गर्न सुरु गरेका छन् ।

रत्ननगर नगरपालिका–१२ का ठाकुर सापकोटाले २५ बिघा जमिनमा केराखेती गर्दै आउनुभएको छ । दश वर्षदेखि केराखेती गर्दै आउनुभएका उहाँलाई पछिल्लो समय मालभोग केरामा लागेको पानामा रोगले सताउन थालेको हो । “हरियो जातको केरा १५ र मालभोग जातको केरा १० बिघामा छ । मालभोगका लागि शत्रु बनेर पानामा रोग आएको छ’, सापकोटा भन्नुहुन्छ, “विगत छ वर्षदेखि यसको उपचार गर्न नै सकिएको छैन ।”

चितवनका अधिकांश केरा किसान आफ्नो केराखेतीमा देखिएको पानामा रोगका कारण चिन्तित भएका छन् । उक्त जातको केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खापर्ने समस्या देखिएको छ । पछिल्लो छ वर्षयता यो समस्याले केराखेती गर्ने अन्य किसानलाई समस्या पार्दै आएको छ ।

केरा लगाएको पहिलो वर्ष रोग नदेखिए पनि दोस्रो वर्षबाट देखिने गरेको रत्ननगर–१२ का किसान नारायणदत्त पन्त बताउनुहुन्छ । “करिव पाँच बिघा जमिनमा केराखेती छ । मालभोग जातको केरा जहाँ लगाए पनि एक वर्षबाट नै समस्या देखिन्छ”, आठ वर्षदेखि केराखेती गर्दै आउनुभएका उहाँ भन्नहुन्छ, “पहिलो वर्ष सामान्य असर देखिए पनि दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ७० प्रतिशतसम्म रोग फैलिने गरेको छ । चौँथो वर्षदेखि केरा नै नाश गर्नुपर्ने अवस्था आएको छ ।”

चितवनमा दुई हजार १०० हेक्टर जमिनमा केराखेती रहेको अनुमान छ । त्यसमध्ये ३० प्रतिशतको हाराहारीमा पानामा रोग देखिएको केरा उत्पादक सङ्घ जिल्ला शाखाका महासचिव जनक पन्त बताउनुहुन्छ । “हामी केरामा आत्मनिर्भर हुन खोजेका छौँ तर मालभोग जातको केरामा रोग देखिएपछि उद्देश्य पूरा हुनसकेको छैन”, उहाँ भन्नुहुन्छ, “रोग बढ्ने क्रम जारी रहेकाले किसान अहिले आत्तिएका छन् ।” अहिले केराको जोन क्षेत्र रहेका कालिका, खैरहनी, रत्ननगरमा पानामा रोग देखिएको छ ।

यसबारे किसानले सरकारी निकायसँग पहल गरिदिन आग्रह गरे पनि सार्थक हुन सकेको छैन । “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र प्रदेश सरकारसँग रोग निदान गरिदिन अनुरोध गरेका थियौँ तर हालसम्म कुनै पहल भएको छैन” महासचिव पन्त भन्नुहुन्छ ।

नेपालमा पानामा रोग १३ वर्षअघि भारतबाट भित्रिएको अनुमान गरिएको छ । चितवनमा भने छ वर्षदेखि व्यापक रुपमा फैलिँदै गएको हो । मालभोग जातमा देखिएको रोगलाई निराकरण गर्न समस्या रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गाना बताउनुहुन्छ । “केरामा छ वर्षदेखि ढुसीजन्य रोग देखिएको थियो । यसलाई निराकरण गर्न सकिँदैन भन्ने विश्वको अभ्यासबाट देखिएको छ”, उहाँ भन्नुहुन्छ, “हाम्रो प्रयासले नसकेपछि नार्कको टोलीलाई बोलाएर अनुसन्धान गर्न लगायौँ तर सकिएन । त्यसपछि चीनबाट वैज्ञानिक बोलाएर निरुपण गर्ने प्रयास गर्दा पनि भएन ।”

निर्मुल गर्न नसकिए पनि पानामा रोगलाई कम गर्न सकिने महासचिव पन्त भन्नुहुन्छ । “मालभोग जातको केरा लगाउदा प्रशस्त गोबर मल प्रयोग गर्न र एक पटक पनि केराखेती नभएको माटो भयो भने रोग कम गर्न सकिन्छ” उहाँ भन्नुहुन्छ । जिल्लामा ७५० कृषकले व्यवसायिक रुपमा केरा खेती गरेको अनुमान छ । मालभोग केराको स्वाद मिठो र उत्पादन बढी हुने भएकाले अधिकांश कृषकको रोजाइमा मालभोग जात नै पर्ने गरेको कृषि अधिकृत ढुङ्गाना बताउनुहुन्छ ।

पानामा रोगबाट बच्न पानामा रोग नलाग्ने जातका केरा छनोट गर्न उहाँको सुझाव छ । मालभोग केराको विकल्पमा यहाँका किसानले ‘जिनाइन’ प्रजातिको केरा लगाउन थालेका छन् । चितवन केरा उत्पादन बढी हुने जिल्ला मानिन्छ । यहाँ वार्षिक ८० हजार मेक्ट्रिकटन केरा उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ ।

देशभरको उत्पादनको करिब ४० प्रतिशत केरा यहाँ उत्पादन हुन्छ तर नेपालमा अझै पनि कूल मागको ६० प्रतिशत केरा भारतबाट आउने व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology