सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सरोकारवाला सबैले गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
निर्वाचन आयोग र नेपाल कानुन समाजले कैलालीको धनगढीमा आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी अन्तक्र्रियामा मुख्यमन्त्री भट्टले सामाजिक सञ्जालका कारण निर्वाचन आचारसंहिता बढी प्रभावित हुने गरेकाले यस्ता प्रवृत्तिलाई रोक्न विषेश ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले निर्वाचन आचारसंहिताको पालना गर्ने गराउनेमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन भइरहेका अवस्थामा हुन लागेको निर्वाचनलाई स्वच्छ, भयरहित, स्वतन्त्र बनाउन यसको आचारसंहिता पालना गर्ने गराउने विषय निकै महत्वपूर्ण छ ।”
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आयोगले आचारसंहिता कडाइका साथ लागू गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आचारसंहितालाई प्रवद्र्धनात्मक, नियन्त्रणात्मक र दण्डात्मक ढङ्गबाट कार्यान्वयन गरिने छ ।”
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनका पद्धति र प्रणाली विगतकोभन्दा सुधारोन्मुख हुँदै गए पनि अझै सुधार गर्नुपर्ने प्रसस्तै विषयवस्तु रहेको बताउनुभयो । उहाँले जनतालाई स्वामित्व बोध गराउने र प्रजातन्त्र दिगो बनाउने गरी निर्वाचनलाई सहभागितामूलक, पहुँचयोग्य, स्वीकार्य र कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।
आयोगका पूर्वसचिव बेगेन्द्रराज शर्मा पौडेलले निर्वाचन आचारसंहिताका प्रमुख विषय र सरोकारवालाको भूमिका, सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधीवक्ता कुलानन्द उपाध्यायले स्थानीय सरकार निर्वाचनको खर्च र प्रचारप्रसार, कानून तथा न्याय मन्त्रालयका सहसचिव निर्मला अधिकारी र समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले निर्वाचन आचारसंहिताको कार्यान्वयन तथा अनुगमनका विषयमा प्रस्तुति राख्नुभएको थियो ।
