• Saturday 25th of July 2026

प्रधानसेनापति ट्रफी २०७८ शुरु


  • गोकर्णेश्वर अनलाइन

नेपाली सेनाका चार वटै कमाण्ड, पाँच वटा बाहिनी र विशेष फौज बाहिनी सहभागी रहेको ‘प्रधानसेनापति ट्रफी–२०७८’ आजदेखि शुरु भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, दौड, सुटिङ र आर्चरी विधा समेटिएको छ ।

सेनाले सङ्गठनभित्र उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ‘स्वास्थ्यका लागि खेलकुद ः राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विसं २०६५ सालदेखि यो प्रतियोगिता आयोजना गरेको हो । यसअघि उक्त प्रतियोगिता भदौमा सञ्चालन हुने गरेकामा कोरोना सङ्क्रमण जोखिमका कारण सारिएको हो ।

मुलुकभित्रका हरेक प्रतियोगितामा बर्चश्व कायम गर्दै आएका सैनिक खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई अब्बल सावित गर्दै आएका छन् ।

तेह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा १०३ पदक दिलाउनका साथै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको च्याम्पियन घोषित भएको थियो ।

प्रतियोगिता उद्घाटनका अवसरमा नेपाली सेनाको तालिम महानिर्देशक सीताराम खड्काले सेनाका सकल दर्जालाई शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित, साहसिक र पेशेवर नेतृत्वदायी भूमिका निर्वाह गर्ने फौज तयार गर्न खेलकुद एक अभिन्न अङगका रूपमा रहिआएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “खेलकुदले सैनिकको आत्मभरोसा वृद्धि गर्ने मात्र नभई टिम भावना कायम राख्नसमेत मद्दत गर्छ ।” उद्घाटन खेलका रूपमा भएको ४०० मिटर महिला दौडमा निर्मला थापा प्रथम, सरस्वती कठायत द्वितीय तथा भगवती थापा तृतीय हुनुभयो ।

पुरुषतर्फको ८०० मिटर दौडमा सुनिलकुमार सुनार प्रथम, बुद्धराम तामाङ द्वितीय तथा सुदीप शाह तृतीय हुनुभयो । प्रतियोगिताका विजयीलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

समारोहमा सेनाका कमाण्डबाट स्थानीय वेशभूषा झल्कने झाँकीका साथै सरायोसहित क्षेत्रगतरुपमा प्रसिद्ध नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology