• Wednesday 29th of July 2026

आगामी निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गराइन्छः प्रवक्ता कार्की


  • गोकर्णेश्वर अनलाइन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले तीनै तहको चुनावमा जनताले उत्साहका साथ सहभागी हुने र यसलाई महाउत्सवका रुपमा सम्पन्न गर्ने बताउनुभयो । “चुनाव महासङ्ग्राम होइन, महाउत्सवका रुपमा सम्पन्न गर्नेछौँ”, सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, “चुनावलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार गम्भीर छ ।”

मन्त्री कार्कीले समृद्ध मुलुक बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न सबै राजनीतिक दल एकजुट भई एउटै सङ्कल्पका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रतालाई हामीले स्पष्टताका साथ संविधानमा उल्लेख गरेका छौँ । यसको रक्षा र संरक्षणका लागि वर्तमान सरकार सधैँ सचेत र चनाखो छ ।”

मन्त्री कार्कीले नेपालको पत्रकारिताजगत्मा सचेतनासँगै पत्रकारको हकहितका लागि रिपार्टर्स क्लबले पु¥याएको योगदानको चर्चा गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सर्वोच्चता स्थापित गराउने कार्यमा क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी १० वर्षभित्रमा एसियाकै सम्पन्न मुलुकका रुपमा विकास गर्ने योजना सुनाउँदै सोही योजना र लक्ष्यअनुसार सरकार अघि बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब हामीहरुको एउटै सङ्कल्प रहनुपर्छ, त्यो सङ्कल्प भनेको मुलुकमा लोकतान्त्रिक स्थिरता र समृद्धिको दिशामा अग्रसर गराउने । त्यस दिशामा हामी सबै एकतावद्ध भएर अगाडि बढौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology