• Wednesday 29th of July 2026

गठबन्धन चुनावसम्म कायम हुन्छ– प्रचण्ड


  • गोकर्णेश्वर अनलाइन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पार्नुभएको छ । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उहाँले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट पार्नुभएको हो ।

“गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ, कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ, अब कुनै द्विविधा छैन, निर्वाचन शान्तिपूर्ण हुन्छ, निष्पक्ष हुन्छ”–उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, समावेशिताको रक्षामा माओवादी केन्द्र लाग्ने भन्दै मुलुकमा सङ्कटको समयमा आफ्नो पार्टीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा आउने सबै सङ्कटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ, तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रुपमा स्वीकार नगरेको स्थिति छ ।”

उहाँले प्रेस तथा पत्रकारिता क्षेत्र सङ्घीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भएको बताउँदै भन्नुभयो “प्रेसको जसरी विकास भएको छ, जुन गतिमा विकास भएको छ, स्वतन्त्रताको जुन तहमा उपभोग गरिएको छ, यो उत्साहजनक छ ।” उहाँले देशको अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्दै अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ प्रयास जारी रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले श्रीलङका जस्तो स्थितिमा नेपाल नरहे पनि भोलिका दिन नेपालमा पनि अप्ठ्यारो स्थिति आउन सक्ने भन्दै त्यसको समाधानको लागि पहल सुरु भइरहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology