• Wednesday 29th of July 2026

प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गर्नुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाई गर्नुभयो । त्यसअघि सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा निस्कदा सलामी अर्पण गर्ने परम्पराअनुरुप नेपाली सेनाको एक टोलीले प्रधानमन्त्री देउवालाई सलामी दिएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डे, स्वास्थ्य सचिव डा रोशन पोखरेल, कृषि सचिव गोविन्दप्रसाद शर्मा हुनुहुन्छ ।

त्यसैगरी प्रधानमन्त्रीका निजी सचिव प्रकाश देउवा, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, निजी क्षेत्रका उद्यमी–व्यवसायी सङ्घसङ्गठनका अध्यक्षसहित उच्च पदाधिकारी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका पदाधिकारी तथा सञ्चारकर्मी हुनुहुन्छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा भारतका लागि नेपालका राजदूत डा शङ्कर शर्मा, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपप्रमुख रामप्रसाद सुवेदीलगायत दूतावासका उच्चअधिकारी नयाँदिल्लीबाट सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology