• Wednesday 29th of July 2026

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह


  • गोकर्णेश्वर अनलाइन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकास गर्न सकिन्छ भन्ने लक्ष्य लिइएको स्मरण गर्नुभयो ।

चेम्बर अफ कमर्सले देशको आर्थिक विकासमा पु-याएको योगदानको कदर गर्दै मन्त्री भुसालले भन्नुभयो, “अर्थतन्त्रमा चेम्बरले पु-याएको योगदान सराहनीय छ, आगामी दिनमा देशको आर्थिक विकासमा सफलता मिलोस् ।” उहाँले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रको सङ्गठन भए उपयुक्त हुन्थ्यो भन्ने आफूलाई लागेको बताउनुभयो ।

मन्त्री भुसालले निजी क्षेत्रका जति संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकलाप बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै संस्था मिलेर आपसी सहकार्य गरेर अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास राखेको छु ।”

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा सरकारसँग निरन्तर सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । संस्थाका ललितपुर अध्यक्ष पुष्परत्न शाक्यले स्थानीय र केन्द्रीय सरकारका एकाइमा चेम्बरको प्रतिनिधित्व हुनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology