• Saturday 25th of July 2026

दूधले मूल्य पाएनः किसान पलायन हुने अवस्थामा


  • गोकर्णेश्वर अनलाइन

म्याग्दी, ३० चैत (रासस) : म्याग्दीको बेनपा–६ बाँसबोटका किसान दुर्गाप्रसाद पौडेलले पाँच वर्षदेखि व्यावसायिक रूपमा भैँसीपालन गरिरहेको छ । लागतअनुसार दूधको मूल्य नपाएपछि भैँसी बेचेर विदेश पलायन हुने अवस्था आएको उहाँको गुनासो छ ।

दाना, घाँस, पराल र ढुवानी खर्चसँगै उत्पादन लागत बढेपछि गाईभैंसीपालक किसान समस्यामा परेको बरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलको भनाइ छ । “२५ वटा भैँसी पालेको छु, दुई वर्षअघि प्रतिबोरा रु एक हजार ३०० मा पाइने दाना बढेर अहिले करिब तीन हजार पुग्न लागेको छ”, उहाँले भन्नुभयो, “दूध र दाना ढुवानी इन्धनको मूल्यवृद्धिले बढाएको छ । दूधको मूल्य पुरानै छ । अहिले हामीजस्ता किसान घाटा व्यहोरेर व्यवसाय गर्नुभन्दा गाईभैँसी बेचेर विदेश जाने मनस्थितिमा छौँ ।”

म्याग्दीमा कृषकले प्रतिलिटर रु १० घाटा खाएर दूध बेच्दा डेरी व्यापारीले प्रतिलिटर रु ३० नाफा राखेर १२० का दरले दूध बेचेका छन् । विदेशबाट आएर गाईभैँसी पालेर स्वरोजगार बनेका युवा पुनःविदेश पलायन हुने अवस्था आएको बेनपा–७ कुरिलाखर्कको ढुङ्गाना पशुपक्षी फार्मका सञ्चाक सुरेश ढुङ्गानाले बताउनुभयो । उहाँले यहाँका गाईभैँसीपालक किसान पलायन हुने अवस्थामा पुगेको छ भन्नुभयो ।

म्याग्दीमा डेढ सयको हाराहारीमा रहेका गाईभैँसी फार्ममा करिब पाँच सय जना निर्भर छन् । कोरोना महामारी फैलिएपछि चिज उद्योग बन्द हुँदा अन्नपूर्ण गाउँपालिकाको राम्चे, घार र पाउद्धारका ५० भन्दा बढी किसानले गाई बेचिसकेका छन् । चिज उद्योगबाहेक बजारमा गाईको दूध कम खपत हुने र भैँसीको दूध उत्पादनको लागत महङ्गो पर्न थालेपछि किसान समस्यामा परेका हुन् ।

बेनपा–५ चुत्रेनीका किसान झलकबहादुर कटुवालले भूगोल र समय अनुकूल दूधको मूल्य समायोजन गर्न नसके पशुपालक किसान विस्थापित हुने अवस्था रहेको बताउनुभयो । “बेनीमा गाईको दूध खपत न्यून भएकाले भैँसी पालेका छौँ”, उहाँले भन्नुभयो, “भैँसीको मूल्य पनि बढेको र दानापानी पनि बढी चाहिने हुनाले दूधको उत्पादन लागत बढी पर्न गएको हो ।”

बिचौलियाका कारण म्याग्दीका किसानले लामो समयदेखि कम मूल्यमा दूध बिक्री गर्न बाध्य छन् । व्यापारीले एक लिटर दूधमै रु ३० देखि ३५ सम्म नाफा खाइरहेका छन् । किसानहरू आफैं उपभोक्तासम्म पुग्न नसक्दा भाउ पाउन मुस्किल भएको हो । बिचौलियाका कारण लामो समयदेखि व्यावसायिक दूध उत्पादन गर्दै आएका किसानको जीवनस्तरमा सुधार आउन नसकेको कटुवालको गुनासो छ । उहाँका अनुसार बिक्री नभएको दूधलाई अर्को दिनसम्म राख्नका लागि उपकरण नहुँदा त्यत्तिकै खेर फाल्नुभन्दा उसै दिन बेच्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले दूध बिक्रीका लागि कुनै सहयोग नगरेको उहाँको आरोप छ ।

दैनिक उपभोग्य सामग्री र खाद्यान्नमा महँगी बढ्दै गए पनि दूधको मूल्य नबढेको उहाँको भनाइ छ । “भैंसीलाई खुवाउने दाना र घाँसको मूल्य बढिरहेको छ”, उहाँले भन्नुभयो, “तर दूधको मूल्य कहिल्यै बढ्दैन ।” दैनिक दुई हजार ५०० लिटरको हाराहारीमा दूध खपत हुने बेनी बजारका ४२ वटा डेरीमा यसअघि पर्वतको मल्लाज, लेकफाँट, धाइरिङ, पोखरा र बागलुङबाट दूध आयात हुने गर्दथ्यो । स्थानीय किसानले व्यावसायिक गाईभैँसी पाल्न थालेपछि केही वर्षयता म्याग्दीमा दूध आयात घटेको छ । आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रका कोषाध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार सो केन्द्रमा आवद्ध २२ किसानले मात्र बेनीमा हाल दैनिक एक हजार २०० लिटर दूध ल्याउने गरेका छन् ।

महङ्गी र ढुवानी खर्चले बढेको दूध उत्पादनको लागतअनुसारको मूल्य समायोजन गर्न सरकारी निकायले सहजीकरण गर्नुपर्ने डेरी व्यवसायी वीरेन्द्र ढुङ्गानाको भनाइ छ । “एक, दुई व्यवसायीले मात्र गरेर हुँदैन”, उहाँले भन्नुभयो, “किसान मर्कामा परेका हुन् भने सरकारी निकायले समन्वय र सहजीकरण गर्नुपर्छ ।”

म्याग्दीको अर्थुङ्गे, खबरा, रत्नेचौर, बगरफाँट, बास्कुना, सिङ्गा, सिमलचौर, बरङ्जा, घतान, तोरीपानी, पात्लेखेत, घार, पाउद्धार र राम्चेमा व्यावसायिक गाईभैँसी फार्म छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कानुसार म्याग्दीमा पालिएका नौ हजार ३४७ गाई र १६ हजार २८६ भैँसीबाट वार्षिक चार हजार ७२४ मेट्रिक टन दूध उत्पादन हुन्छ । युवाहरुले वैदेशिक रोजगारको विकल्पमा पशुपालन गरेर स्वरोजगार बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology