• Friday 24th of July 2026

कृति परिचयः अँजुलीभरी अति सरल कविता र गीत


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, ७ वैशाख (रासस) :
‘बनावटी हाँसोको त
सागर नै दिए पनि
रित्तो हुन्छ,
कामना हुँदैन, वासना हुँदैन
भ्रम हुन्छ त्यो
स्वच्छ अनि निर्मल हुँदैन त्यो…’
औपचारिकता हुन्छ

नेपाली राष्ट्रसेवकहरू नियमित प्रशासनिक काम मात्र गर्दैनन्, सिर्जनात्मक लेखनमा पनि समय दिन्छन् भन्ने पछिल्लो उदाहरण सागर फुयाल हुनुभएको छ । विमल कोइराला, एस्पी कोइराला, लव गाउँले, दामोदर पुडासैनी किशोर, राम सञ्जेल आदि निजामती सेवाका कर्मचारीका लहरमा फुयाल ‘अँजुलीमा थाप्न पाए’ काव्यसङ्ग्रह (प्रकाशक मैया फुयाल, २०७८) लिएर आउनुभएको छ ।

कविता र गीत गरी दुई भागमा विभाजित सङ्ग्रहमा एक सय एक रचना छन् । तीमध्ये केही पत्रपत्रिकामा प्रकाशित पनि भइसकेका छन् । सत्र वर्षअघिदेखि नै कविता, गीत र गजलमा कलम चलाउनुभएका फुयाल आफ्ना पिता ईश्वरीप्रसादको निधनपछि झनै उद्वेलित बन्नुभयो र उहाँमा भावावेग अझ बढ्यो जसमा मित्रहरूले पनि प्रेरणा दिए । अर्बुदरोगबाट बित्नुभएका पिताप्रति ‘समर्पण’ गरिएको कृतिमा पहिलो कविता नै ‘ड्याड’ छ । जसमा पिताको सम्झना, दुवैका आपसी प्रेम र सम्मान, स्वाभिमान, अरूले दिएका पीडा आदि व्यक्त भएको छ ।

कवि ‘आमाका दश धारा’ दूधको पनि सम्झना गर्नुहुन्छ र त्यो आफ्नो जीवनको रक्षाकवच नै भएको ठम्याउनुहुन्छ । कवितामा आफ्नो कर्मक्षेत्रका विषय पनि अटेका छन् । जागिर खाँदा आफ्नो स्वाभिमान र निजी जीवन नै गुमाउनुपर्ने पीडा व्यक्त गर्दै कविले त्यसबाट निवृत्त भएर सडकमा पुग्दा आफ्ना सारा घमन्ड र पाखण्ड सकिने कल्पना पनि गर्नुभएको छ । आफ्नो बाल्यकालमा दसैँ जस्तो महान् पर्वमा भोगेको रमाइलोपन सम्झँदै कवि पर्वका अवसरमा हुने पशुबलि र यसको विकृतिप्रति ठाडै व्यङ्ग्य प्रहार गर्नुहुन्छ । बहादुर नेपाली विदेशीको सेवा गर्न बिदेसिनु परेकामा दुःख मनाउ गर्दै परराष्ट्र मन्त्रालयमा कार्यरत कवि नेपाली जाति विश्वभर छरिन पाएकामा गर्व पनि गर्नुहुन्छ ।

कवि फुयालका कविताभन्दा गीत अझ परिपक्व लाग्छन् । ‘मौसम बदलिएसरि, बदलिन्छ मान्छे, पानीको आकारसरि फेरिन्छ मान्छे’, ‘शान्त बग्ने खोला पनि बग्छ कहिले भेल बनी, एकैनास हुन्न जीवन, घुम्तीहरू आएपछि’, ‘पाइला पाइला गन्दै कति बाँच्छौँ दुईदिने जीवन, हारजित छोडी बाँच कलकल बग्ने जीवन’ जस्ता गीतले मानिसको जिन्दगी, प्रवृत्ति र बाध्यताहरू बोलेका छन् । ‘तिमीले आफ्नै मानेको दुनियाँ आफ्नो जस्तो छैन, बहुरूपीहरुको भिड यो नियम खेलको जस्तो छैन’, ‘यहाँ सास फेर्न पनि हावा लिनुपर्ने भएछ, यहाँ संसार हेर्न पनि दृष्टि सापटी लिनुपर्ने भएछ’ जस्ता गीतले भने वर्तमान मानव जगत्को स्थिति झल्काएको छ । उहाँले लेखिएका गीतहरू सङ्गीत र गायनका लागि पनि योग्य देखिन्छन् । कविले दुवै विधामा आफ्नै जिन्दगी र बाध्यता अभिव्यक्त गरे पनि ती सबै अन्य मानिससँग पनि मिल्दाजुल्दा देखिन्छन् ।

यसरी कविता र गीतमा विविध विषयमा स्वतस्फुर्त रूपमा आएका भाव अति सरल छन् र बोधगम्य छन् । भन्नुपर्ने कुरा सोझै भनिएको छ । लेखनमा परिपक्वता लेख्दै जाँदा प्राप्त गर्ने कुरा हो । भूमिकाकार साहित्यकार धीरेन्द्रकुमार श्रेष्ठले पनि ठीकै भन्नुभएको छ, “कलामूल्यको चस्मा लगाएर कविता खोज्नेका लागि उहाँका भावविम्बका अजस्र बगाइमा परिष्कृत सुन्दरताको बगैँचा खोज्न प्रयत्न गर्नुपर्ला तर तिनमा सरल र सहज कलकल भने अनुभूत गर्न सकिन्छ ।” कृतिको आवरण अति नै मूर्त छ । कृति पढ्दै जाँदा वर्णविन्यासमा केही खोट पाइन्छन् । बाह्य सम्बन्धसँग सम्बन्धित जागिरले साहित्यकारलाई आगामी दिनमा विश्वजगत्का विषयवस्तु पनि परिपक्वताका साथ सिर्जना गर्न प्रेरणा दिने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology