• Wednesday 29th of July 2026

जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण हुन्छ : गृहमन्त्री खाण


  • गोकर्णेश्वर अनलाइन

नेपाल सरकार गृहमन्त्री बालकृष्ण खाण जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको बताउनुभएको छ । गृहजिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो ।

“शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको समुचित प्रबन्ध गरेको छौँ, आवश्यक परे हवाइगस्ती गर्छौं”, उहाँले भन्नुभयो । गृहमन्त्री खाणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एकैपटकमा एकैदिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताउनुभयो ।

राजनीतिक नेपाल कम्युनिष्ट पार्टीलगायतका अन्य केही दलले निर्वाचनमा पहिलो पटक भग लिने बताउँदै उहाँले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका नेता खाणले आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेलाई कारबाही गरिनेसमेत बताउनुभयो । निर्वाचनमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको उहाँको भनाइ छ ।

“अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्वपूर्ण होइन, कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा स्थानमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ”, उहँँले भन्नुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा सर्वोच्चले गरेको फैसलाबारे पत्रकारले राखेको जिज्ञासाबारे गृहमन्त्री खाणले न्यायालयको निर्णयको सम्मान गर्ने बताउनुभयो ।

चैत २५ गतेदेखि निलम्वनमा पर्नुभएका अधिकारीलाई मङ्गलबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले मङ्गलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology