• Saturday 25th of July 2026

किसानलाई सधैँ मल अभाव


  • गोकर्णेश्वर अनलाइन

बलेवा, ९ वैशाख (रासस) : मकै खेतमा रासायनिक मल (डिएपी) हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् ।

मकैको गोडमेल गर्ने बेलामा आवश्यक डिएपी मलको अभाव हुँदा यहाँका किसान मर्कामा परेका छन् । सिँचाइ सुविधा भएका बागलुङका फाँटमा मकैको गोडमेल गर्ने बेला भएको छ । किसानले डिएपी मल नपाएको गुनासो गर्न थालेका छन् ।

हिउँदे बालीमा रासायनिक मलको कम खोजी गर्ने यहाँका किसानले मकै र धानबालीका लागि भने मलको खोजी गर्ने गरेका छन् । पहिलो गोडमेलको समयमा मकैको बिरुवामा प्रयोग गर्दै आएको रासायनिक मल किसानले बजारमा नपाएका हुन् ।

“बजारमा पनि मल पाइएन, यता सहकारीहरूमा पनि मल छैन भन्छन्”, किसानहरु भन्छन्, “मल नपाउँदा मकै बाली बिग्रिन लागेको छ ।” खेतीपातीका बेला जहिले पनि मलको अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङका अनुसार भदौ महिना यता डिएपी मल डिपोमा आएको छैन । “हामीले मकै गोडमेल गर्ने बेला मल पाएनौँ, सधैँ ल्याउने सहकारीले यो पटक गाउँमा मल ल्याएको छैन”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान गणेश पौडेलले भन्नुभयो, “यो पटक मल नराखी गोडमेल गर्नुपर्ने भो, मकै पसाउँछ कि पसाउँदैन थाहा छैन ।”

कर्पोरेशनले कृषि विज्ञको सल्लाहका आधारमा सिङ्गल सुपर फसफेट मल भने वितरण गर्दै आएको छ । यो मलमा नेपाल सरकारको अनुदान छैन । “हामीले विकल्पका रुपमा सिङ्गल सुपर फसफेट किसानलाई उपलब्ध गराइरहेका छौँ, यो मल तीन वटा फ्लेबरमा हुन्छ, सबै फ्लेबरको अभाव छैन, तर डिएपी आउन अझै एक महिना लाग्ने सूचना पाएको छु”, डिपो कार्यालयका प्रमुख मनोज श्रेष्ठले भन्नुभयो, “युरिया मल भने बेलैमा मौज्दात राखेकाले अहिलेलाई अभाव छैन तर किसानले मागेको जति पाएका छैनन् ।”

वैकल्पिकरुपमा प्रयोगमा ल्याइएको सिङ्गल सुपर फसफेट डिएपीभन्दा सोही परिणामको उत्पादन लिनका लागि दोब्बर प्रयोग गर्नुपर्ने हुन्छ । “डिएपी एकमात्रा दिनुपर्ने ठाउँमा सिङ्गल सुपर फसफेट दुई मात्रा दिनुपर्ने हुन्छ”, कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो, “प्रतिकिलो मूल्यमा सिङ्गल सुपर फसफेट सस्तोमा पाइन्छ तर किसानको उत्पादन लागत बढ्ने हुन्छ ।”

डिएपीमा फस्फोरसको मात्रा ४६ प्रतिशत र सिङ्गल सुपर फसफेटमा फस्फोरसको मात्रा १६ प्रतिशत मात्रै हुने भएकाले फस्फोरसको मात्रा बराबर गर्न दोब्बर प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । “मकैमा त्यति धेरै रासायनिक मलको आवश्यकता पर्दैन, घरायसी मल प्रशस्त प्रयोग गर्दा पनि हुन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “प्रयोग गरिरहेको ठाउँमा प्रयोग नगर्दा एक पटकका लागि उत्पादनमा कमी आउने हुन्छ ।”

बागलुङका अधिकांश पालिकाले मकै पकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् । उन्नत जातको मकै र मकैको बीउ उत्पादनको कार्यक्रमसमेत रहेको बागलुङमा रासायनिक मलको अभावले उत्पादनमा क्षति गर्ने कृषि प्राविधिक बताउँछन् ।

“मलकै अभाव कहिलेसम्म झेल्नुपर्ने हो ?” किसान गणेश पौडेलले भन्नुभयो, “आवश्यकताभन्दा न्यून कोटामा मल आउने भएकाले जहिले पनि हाहाकार हुने गरेको हो ।” आवश्यकताभन्दा रासायनिक मलको आपूर्ति अत्यन्त न्यून हुने गरेको कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ । केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो, “यो अभाव भइरहन्छ, रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलमा केन्द्रित हुनुपर्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology