• Wednesday 29th of July 2026

माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरण : अध्यक्ष दाहाल


  • गोकर्णेश्वर अनलाइन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्णरुपमा ध्रुवीकरण प्रक्रिया सुरु भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले यसअघि माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौँ नेता कार्यकर्ता पुरानै घरमा फर्केको बताउनुभयो ।

उहाँले कम्युनिष्ट र पूर्वमाओवादी नेता कार्यकर्तालाई एकतामा आउन आह्वान गर्नुभयो । “विभाजित भएका माओवादी शक्ति पुनःएकता हुनेक्रम बढेको छ, यो उत्साहपूर्ण छ, पूर्वदेखि पश्चिमसम्म एकताको लहर आएको छ”, उहाँले भन्नुभयो, “जनयुद्धबाट प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको छ, परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढेको भन्दै उहाँले परिवर्तनका लागि त्याग, बलिदान र कीर्तिमान गर्नेहरु एक ठाउँमा आउनुपर्ने बेला आइसकेको बताउनुभयो । “परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट शक्तिलाई विशेष रुपले अपिल गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

परिवर्तनका मुद्दालाई स्थापित गर्न, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र न्यायपूर्ण आन्दोलनका सहिदका सपना पूरा गर्न परिवर्तनकामी शक्ति एक हुनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनलाई संस्थागत गर्न आगामी निर्वाचनमा माओवादीले जित्नैपर्ने बताउनुभयो ।

“हामीले जित्दा राष्ट्रले जित्छ, जनताको जीत हुन्छ”, उहाँले भन्नुभयो, “माओवादीले हार्दा प्रतिक्रान्तिकारीले जित्ने खतरा हुन्छ, त्यसैले माओवादी र परिवर्तनकारीलाई जिताउन जनता अग्रसर हुनुपर्छ ।”

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेताहरु माओवादीमा प्रवेश गर्नुभएको थियो । जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलीप थापामगर लगायतलाई अध्यक्ष दाहालले पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology