• Monday 27th of July 2026

परशुराम नगरपालिकाको प्रमुखमा २८ वर्षीय उम्मेदवार


  • गोकर्णेश्वर अनलाइन

डडेल्धुरा, १३ वैशाख (रासस) : डडेल्धुुराको परशुराम नगरपालिकामा सम्भवतः देशकै कान्छा युवा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

२०४९ सालमा जोगबुढाको लालढुङ्गामा जन्मेका २८ वर्षीय भरत बडायर जोशीले परशुराम नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका हुन् । समाजसेवामा अग्रसर देखिने प्रमुखका उम्मेदवार भरतले परशुरामलाई समृद्ध र विकसित बनाउने अभिलाषाका साथ प्रमुख पदमा उम्मेदवार बनेको दाबी गगरेका छन् । आमा मङ्गलादेवी बडायर जोशी र बुबा चन्द्रकान्त बडायर जोशीका कान्छा छोरा भरतले परशुराम नगरमा युग सुहाउँदो विकास निर्माण गर्ने प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा मनोनयन गराएका हुन् ।

प्रारम्भिक शिक्षा जोगबुढामै रहेको ग्रिनभ्याली बोर्डिङ स्कुलबाट सुरु गरेका भरतले एसएलसीसम्म सोही विद्यालयमा अध्ययन गरेको बताउनुभयो । उच्चशिक्षा हासिल गर्नका लागि महेन्द्रनगर पुगेका भरतले समाजिक र राजनीतिक जीवन नेविसङ्घका प्रारम्भिक कमिटीबाट सुरुआत गरेको जानकारी दिनुभयो ।

त्रिचन्द्र क्याम्पसबाट फिजिक्समा स्नातक सकाएपछि जोशीले चीनबाट ‘एड्मोस्फेरिक फिजिक्स’मा मास्टर्ससमेत गरेका छन् । परशुरामका प्रतिद्वन्द्वीका लागि बलिया उम्मेदवार साबित गरिरहेका भरत युवा र ज्येष्ठ नागरिकका माझमा लोकप्रिय उम्मेदवार बनेका छन् । कोरोना महामारी वा अन्य बेलामा समेत विभिन्न औषधि, खाद्यान्नका साथै बिरामी ओसारपसारमा पनि सहयोग गरेका कारण परशुराममा भरतलाई एक राजनीतिज्ञभन्दा पनि युवा समाजसेवीका पदमा लिइने परशुरामका चुडामणि पनेरुले जानकारी दिनुभयो ।

सम्भवत मुलुककै कान्छा उम्मेदवार २८ वर्षीय जोशीले उम्मेदवारी दर्ता गराएसँगै जिल्लाभर चर्चा चलेको छ । कांग्रेस परशुरामका सभापतिसमेत रहेको जोशीले निर्वाचन अधिकृतको कार्यालयमा जोगबुडामा आफ्नो समूहसहित नेपाली कांग्रेस दलबाट सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

सर्वसाधारणका लागि पनि दुःखसुखमा साथ दिइने इमान्दार युवाका रुपमा परिचित एक सशक्त प्रखरवक्ता का रुपमा लिइएको नेपाली कांग्रेसका सभापति भीमबहादुर साउदले बताउनुभयो । भरत बडायर नेपाली कांग्रेस परशुराम नगरका सभापति पनि हुन् । उनले कोरोना महामारी वा अन्य समयमा पनि गरिब असहाय र समस्यामा परेका मानिसलाई सहयोग गर्नाका साथै समस्यामा परेका मानिसलाई अभिभावकको भूमिका पनि निर्वाह गरेको जनमानसमा छाप छ ।

शिक्षा स्वास्थ्य कृषि, सडक, युवा स्वरोजगार लगायतका कुराहरुमा विकासको नमूना देखाउन उनले प्रतिबद्धतापत्रमार्फत जानकारी गराएको स्थानीयवासीको भनाइ छ । जेठा दुई दाजु अमेरिका र क्यानाडामा बस्दै आएका भरतका बुबाले लालढुङ्गामै सानोतिनो व्यापार गरी छोराहरु हुर्काको जनाउनुभयो । पढ्नमा तीखोबुद्धि भएका भरत सानैदेखि समाजसेवा भन्ने बित्तिकै हुरुक्क हुने र समाजमा नयाँ कुराको अभ्यास गरी नौलो विचारका साथै असहाय मानिसको सेवामा लाग्ने गरेको उनका बुबा चन्द्रकान्तले जानकारी दिनुभयो ।

पछिल्लो दुई वर्षदेखि परशुरामै समाजसेवा गर्दै आए भरत प्रधानमन्त्री शेरबहादुर देउवा र स्थानीय कांग्रेसका नेताबाट प्रभावित भई नेविसङ्घ हँुदै पार्टीमा सक्रिय राजनीतिमा लागेको बताउनुभयो । परशुरामलाई समृद्ध बनाउन र युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम तथा युवा स्वरोजगारका कुरालाई जोड दिने प्रतिबद्धता गर्दै प्रमुखको दाबी गरेको उहाँले बताउनुभयो ।

दुर्गम बस्तीसम्म स्वास्थ्य सुविधा र सडक सञ्जाललाई विस्तार गर्ने योजना बनाएका भरत युवाका माझमा निकै लोकप्रिय छन् । कान्छा उम्मेदवारका रुपमा रहेका भरतसँग प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रबाट शेरसिंह मालको पनि उम्मेदवारी छ । माल पनि परशुराममा पकड राख्ने नेताका रुपमा चिनिन्छन् । मालको पनि सामाजिक क्षेत्रमा ठूलो योगदान रहेको स्थानीयवासी बताउँछन् ।

मालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि प्रमुखमा मनोनयन दाबी गरेका थिए । उनी झिनो मतका अन्तरले नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित हुन पुगेका थिए । त्यतिबेला माल नेपाली कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउदसँग झिनो मतको अन्तरमा हारेका हुन् ।

भरतसँगै कांग्रेसले उपप्रमुखमा परशुराम नगरपालिकाका बहालवाला उपप्रमुख तथा महिला सङ्घ डडेल्धुराकी संयोजक कलावती देवी बोहराले उम्मेदवारी दर्ता गराउनुभएको छ । सोमबार मात्रै नेपाली कांग्रेसले सातवटै स्थानीय तहमा एक्लै उम्मेदवारी दर्ता गराएको छ भने अन्य पार्टीले पद बाँडफाँट गरी उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology