• Saturday 25th of July 2026

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय


  • गोकर्णेश्वर अनलाइन

स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो । रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । “स्याङ्जा जिल्ला अस्पतालमा डायलासिस सेवा विस्तार र ‘ब्लड बैंक’ स्थापनालाई पहिलो प्राथमिकतामा राखेर निर्णय गरिएको छ”, नगरप्रमुख रेग्मीले भन्नुभयो, “सार्वसाधारणमा स्वास्थ्यको सहज पहुँचका लागि थालिएको अभियानलाई पूर्णता दिने गरी थालनी गरेका हौँ ।”

हाल सञ्चालनमा रहेको डायलासिस सेवालाई विस्तार र प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने, ‘ब्लड बैंक’ स्थापना गरी सहजरुपमा रगत उपलब्ध गराउने कार्यकालागि आर्थिक वर्ष २०७८÷७९ को विपद् व्यवस्थापन कोषबाट रु १० लाख निकासा गर्न लागिएको छ ।डायलासिस सेवालाई विस्तार र थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्यकर्मी, बायोमेडिकल टेक्निसियन तथा पूर्वाधार निर्माण गरिने भएको छ । जिल्ला अस्पतालमा हाल नियमितरुपमा १२ मिर्गौलाका बिरामीलाई डायलासिस गरिँदै आएकामा त्यसलाई विस्तार गरी ४५ जनालाई सेवा उपलब्ध गराउने गरी आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्न लागिएको छ ।

सेवा थप विस्तार भएसँगै मिर्गौलाका बिरामीलाई डायलासिस गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनाका साथै जिल्ला अस्पतालमा शल्यक्रियामार्फत हुने सुत्केरी सेवा र अन्य बिरामीलाई अत्यावश्यक पर्ने रगत सहजरुपमा उपलब्ध गराएर रगतको अभावमा अकालमै मृत्यु हुनबाट रोक्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology