• Monday 27th of July 2026

डिजिटल रूपान्तरणमार्फत नागरिकलाई सशक्तिकरण गर्ने मन्त्री कार्कीको प्रतिज्ञा


  • गोकर्णेश्वर अनलाइन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल रूपान्तरणमार्फत नेपाली नागरिकलाई सशक्तिकरण गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा जारी विश्व दूरसञ्चार विकास सम्मेलनलाई आज उहाँले सम्बोधन गर्दै सो प्रतिबद्धता गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । उहाँले विश्वव्यापी सेवा दायित्व कोष प्रयोग गरेर सम्पर्क सञ्जालमा नजोडिएकाहरूलाई जोड्न, डिजिटल अर्थतन्त्रमा संलग्न व्यक्तिहरूको क्षमता सुधार गर्न तथा डिजिटल सरकारका लागि आधार अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

यस वर्षको ‘दिगो विकास हासिल गर्न सम्पर्क सञ्जालबाहिर नजोडिएकालाई जोड्ने’ विषयवस्तु नेपालका लागि सबैभन्दा उपयुक्त रहेको उल्लेख गर्दै मन्त्री कार्कीले यसका लागि नेपालको सन्दर्भ भौगोलिक, गरिबी, र डिजिटल साक्षरता चुनौती रहेको अवगत गराउनुभयो । नेपाल सरकारले सन् २०२५ सम्म सबै गतिविधिलाई डिजिटल रूपमा लागु गर्न नीतिगत सुधार र नयाँ कानुन निर्माणमा अभिप्रेरित गर्ने लक्ष्य राखेको उहाँको भनाइ थियो ।

उहाँले सम्मेलन सङ्घका साझेदार सदस्यबीच सहकार्यलाई सुदृढ बनाउनका लागि छलफल गर्न र डिजिटल विभाजन कम गर्न तथा जनताको डिजिटल क्षमता अभिवृद्धि गर्ने उपयुक्त मञ्च भएको आफूले महसुस गरेको उल्लेख गर्नुभयो ।

नेपाल ‘डिजिटल नेपाल फ्रेमवर्क २०१९’को पछि डिजिटल रूपान्तरणको अवस्थामा रहेको बताउँदै मन्त्र्री कार्कीले डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल प्रयत्नबाट आर्थिक वृद्धिमा कसरी योगदान गर्ने तथा छोटो अवधिमा प्रमुख चुनौतीहरू समाधान गर्न नयाँ तरिका र विश्वव्यापी अर्थतन्त्रमा सहभागिताका अवसर पहिचान गर्ने मार्गचित्र प्रदान गर्ने जानकारी गराउनुभयो ।

सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही जेठ २० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । सङ्घको आयोजनामा जुन ६ देखि १६ तारिखसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडालगायत सहभागी हुनुहुन्छ । सम्मेलनमा सहभागी भई मन्त्री कार्की यही जेठ २८ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology