• Monday 27th of July 2026

सङ्घ र प्रदेशको निर्वाचन पछिसम्म पनि गठबन्धन रहन्छ : अध्यक्ष दाहाल


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृया टुङ्गोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उहाँले सङ्घ र प्रदेशको निर्वाचनसम्म मात्रै नभएर शान्ति प्रकृया टुङ्गोमा पु-याउने र विकासको नयाँ युगतिर लैजानका लागि पनि सामुहिकतामा नै जाने बताउनुभयो ।

देशलाई अब कसैले प्रतिगमनतर्फ लान नसक्ने भन्दै उहाँले भन्नुभयो, “अहिले पनि समस्या र चुनौति त छन्, यद्यपी गठबन्धनको सरकारले ती मुद्दा समाधान गर्दै अघि बढेको छ ।” अहिले देशमा एक्लै हिड्ने प्रवृत्ति र मिलेर हिड्ने प्रवृत्तिका बीचमा लडाइँ भइरहेको उहाँले बताउनुभयो । हरेक पार्टीभित्र पनि यो प्रवृत्ति कायम रहेको भन्दै उहाँले भन्नुभयो, “हिजो प्रतिगमनतिर जान खोज्ने, संविधान मिच्न खोज्ने, लोकतन्त्रलाई मास्न खोज्ने प्रवृत्ति एक्लै हिँडेको छ । अर्को सबै मिलेर जाउँ भन्ने प्रवृत्ति रहेको छ ।” एकताको पक्ष र विरोधीका बीचमा अहिले लडाइँ चलिरहेको उहाँले बताउनुभयो ।

स्टेर्ट पार्टनरसीप प्रोग्राम (एसपिपी) पूर्वप्रधानमन्त्री केपीशर्मा ओली सरकारको पालामा भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रवादको ढोङ्को पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन पनि अपिल गर्दछु ।”

अध्यक्ष दाहालले चितवनको भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन आफूले पहल थाल्ने बताउनुभयो । भरतपुर महानगरपालिकामा विगतमा भएका विकासको प्रशंसा गर्दै उहाँले यस अघि पहिलो प्रथामिकता सडक रहेको भन्दै अबको प्रथामिकता उत्पादन, रोजगारी, सामाजिक सुरक्षा र न्यायतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । विकासका हिसाबले आफ्नो ध्यान देशभरनै पुग्ने भए पनि यहाँको विकास देशकै लागि नमूना बन्ने बताउनुभयो ।

कार्यक्रममा ऊर्जा, सिँचाइ तथा जलश्रोतमन्त्री पम्फा भुसालले नारायणी तटबन्धन र सिँचाइका क्षेत्रमा भरतपुरमा महत्वपूर्ण काम अघि बढेको बताउनुभयो । वार्षिक रु तीन खर्ब ५० अर्वभन्दा बढी खाध्यान्न बाहिरबाट आएको भन्दै उहाँले यसलाई रोक्ने गरी कृषि उत्पादन यही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइको व्यवस्था हामी गर्छौँ । चितवनले गरेको उत्पादन जिल्लामा मात्र सीमित नभएर राजधानीमा पनि पुग्नुपर्छ ।”

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चितवन, मकवानपुर र धादिङ्मा चेपाङ्लाई लक्षित गरी विशेष कार्यक्रम अघि सारिएको बताउनुभयो । प्रदेश सरकारले ल्याएका बजेटका मुख्य अङ्शका बारेमा उहाँले जानकारी गराउनुभएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले चितवनलाई सडक सञ्जालमार्फत काठमाडौँ, पोखरा, भैरहवा र वीरगञ्जलाई जोड्ने गरी कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

सो अवसरमा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, अर्थ सचिव मधुकर मरासिनी, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपलप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नागरिक उड्डयान प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारी, सिँचाइ विभागका महानिर्देशक शुशीलचन्द्र आचार्य, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ्, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको वर्तमान अवस्था, उपलब्धि र अबको कार्यदिशाका बारेमा प्रकाश पार्नुभएको थियो । महानगरपालिकामा चालु अवस्थामा रहेका मुख्य आयोजना र नयाँ कार्यक्रमको बारेमा विस्तृत जानकारीसमेत सो अवसरमा प्रमुख दाहालले गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology