• Monday 27th of July 2026

अमेरिका भ्रमणको औपचारिक तय भएपछि जानकारी गराउनेछ : प्रम देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताउनुभएको छ ।

उहाँले आज नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने इच्छा व्यक्त गर्नुभएको हो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहनुभएका सचेतक भुसालले आज उहाँसँग भेट गर्नुभएको थियो ।

समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पार्नुभएको थियो । समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो । प्रधानमन्त्री देउवा आफ्नो कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसक्नुभएको बुझिएको छ ।

बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री÷रक्षामन्त्रीलाई आगामी बैठकमा पुनःआमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला (खरेल)ले जानकारी दिनुभयो । साथै बैठकले समितिको प्रतिवेदन, २०७९ आवश्यक परिमार्जनसमिति पारित गरेको छ ।

बैठकमा बोल्ने अधिकांश समिति सदस्यले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सन् २०१९ पछि अमेरिकाकै ‘इण्डो प्यासिफिक रणनीति’ मा आबद्ध भएको प्रतिवेदनमा उल्लेख भएपछि नेपाल त्यसबाट फिर्ता हुन नेपाल सरकारले पत्र लेख्नुपर्ने सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology