• Monday 27th of July 2026

स्थानीय निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको छ : अध्यक्ष नेपाल


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ समाजवादीको तेस्रो पूर्ण बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “निर्वाचनमा गठबन्धन आवश्यक थियो, त्यसले राम्रो परिणाम दिएको छ, कहीँकतै समस्या भए होलान्, त्यसलाई आगामी दिनमा व्यवस्थापन गरेर जानुपर्छ, पार्टी सही ढङ्गले चलेन भने के हुन्छ ।”

आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै उहाँले भन्नुभयो, “हामीले पार्टी विभाजनको छोटो समयमा धेरै काम गरेका छौँ, पार्टीलाई विधान र विधिमा चलाएका छौँ । सामूहिक छलफल र निर्णयका आधारमा पार्टी चलेको छ ।” अध्यक्ष नेपालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) जस्ताको तेस्तै पास हुनबाट आफ्नो पार्टीले रोकेको दाबी गर्नुभयो ।

“केही पार्टी एमसिसी जस्ताको तस्तै पास गर्ने पक्षमा थिए । हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएपछि त्यसको विरोध गर्यौँ । माओवादी पनि विपक्षमा उभियो”, उहाँले भन्नुभयो, “हाम्रो अडानले ब्याख्यात्मक घोषणा गरेर पास गर्न सफल भयाँैं ।” एकीकृत समाजवादी सधँै जनता र राष्ट्रको पक्षमा उभिने उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी जोगाउन र संविधानको रक्षा गर्न तत्कालीन नेकपा (एमाले)बाट विद्रोह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब प्रतिस्पर्धाको मैदानमा तपाईं महिला अगाडि आउनुस्, तपाईंको क्षमता, सक्रियता र भूमिकाको आधारमा मूल्याङ्कन हुनेछ, त्यसमा तपाईंहरूले श्रेष्टता हासिल गर्नुपर्छ ।” अध्यक्ष नेपालले आफ्नो जिम्मेवारी पूरा गर्ने काममा महिला अगाडि बढेर त्यसैको आधारमा मूल्याङ्कन हुने बताउनुभयो ।

समाजको वर्गीय दृष्टिलाई सही ढङ्गले बुझ्नु आवश्यक रहेको बताउँदै अध्यक्ष नेपालले समाजमा भएका महिला हिंसाका घटनाका विरोधमा अनेमसङ्घ सक्रिय हुनुपर्ने बताउनुभयो । सो अवसरमा राष्ट्रियभामा निर्वाचित चार जना महिला सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई पार्टी अध्यक्ष नेपालले सम्मान गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology