• Saturday 25th of July 2026

खाडीमा भन्दा बारीमै कमाईः तरकारीबाटै वार्षिक आठ लाख आम्दानी


  • गोकर्णेश्वर अनलाइन

गलेश्वर, १४ असार (रासस): जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लाग्नुभएका हरिलाल घिमिरेको जीवनमा बल्ल हरियाली छाउन थालेको छ ।म्याग्दीको बेनी नगरपालिका–२ बञ्चरेढुङ्गाका ५१ वर्षीय उहाँको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीन दशक अघि २० वर्षको उमेरमा गरिबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाउनु भएका घिमिरेले दश वर्ष साउदीअरब र पाँच वर्ष भारतमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभयो । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने राम्रै कमाइ हुन थालेको छ ।

हरिलालजस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल हुनुभएको छ । गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गर्नुभएका यी घिमिरे दाजुभाइ मात्र होइनन्, जिल्लामा कैयौँ युवाहरु पनि छन् । रहरले होओस् वा बाध्यताल पैसा कमाउनका लागि दैनिक सयौँ नेपाली युवा विदेशी भूमिमा जाने गर्दछन् ।

अधिकांश नेपाली विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका छन् तर पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर स्वदेश फर्कनेको पनि लर्को नै छ । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइँलाई बिट मारेर स्वदेश फर्किनुभएका रोहोटेका ४८ वर्षीय चन्द्रबहादुर घिमिरेले अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

पाँचवटा हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारी लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मुला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर उहाँले एकै याममा रु चार लाखभन्दा बढी कमाइ गर्दै आएको बताउनुभयो । “विदेशबाट फर्किएको १० वर्ष भयो । त्यो अवधिमा विदेशभन्दा तीन गुणा बढी कमाउन सफल भएँ”, घिमिरेले भन्नुभयो, “आफ्नो परिवारसँगै बसेर आफ्नै माटोमा रमाउनुको मज्जा नै बेग्लै हुँदोरहेछ ।”

गाउँमै रु तीन लाख लगानी गरेर रोहोटे नमूना कृषि फार्म सञ्चालन गर्नुभएका घिमिरेले भन्नुभयो, “आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ र काउली, बन्दा, आलु, गोलभेँडा, साग, मौसमी तरकारी र बेमौसमी तरकारीे उत्पादन गरेर बिक्री गर्ने गरेको छु, बजारका लागि टाढा जानै पर्दैन ।”त्यसैगरी रोहोटेकै हरिलाल घिमिरेले पनि तरकारीसँगै लोकल बाख्रा, कुखुरा र माछापालन पनि गर्नुभएको छ । दश रोपनी जग्गामा श्रीमती र छोराको सहयोगमा सबै काम गर्न सफल भएको उहाँले बताउनुभयो ।

तरकारीसँगै गाउँमा धान, गहुँ, मकै, कोदोको पनि खेती गर्नुभएका घिमिरेले भन्नुभयो, “१४ वर्ष दुबई र कतारको मरुभूमिमा दुःख गरेँ तर जीवनमा हरियाली छाउन सकेन, आफ्नै गाउँ फर्केर आफ्नै माटोमा गरेको परिश्रमले बल्ल जीवनमा हरियाली ल्याउन सफल भएँ ।” अहिले मानिसले धेरै दुःख गर्न छाडेका कारणले गाउँमै आफूले उत्पादन गरेको तरकारी बिक्री हुने गरेको उहाँको भनाइ थियो । आफ्नो गाउँ ठाउँमा कृषिका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने घिमिरेले बताउनुभयो ।

गतवर्ष हाइटेक टनेलका लागि पालिकाबाट आधा सहयोग पाएर टनेल बनाएको थिएँ, त्यसबाहेक अन्य सहयोग स्थानीय सरकारले नगरेको उहाँकोे गुनासो थियो । स्वदेशमै केही गर्न चाहने मानिसका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग र तालिमको व्यवस्था गर्नुपर्ने उहाँरुको माग थियो ।
“सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन” घिमिरेले भन्नुभयोे कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउलास भनेर गिज्याए तर पनि म आफ्नो काममा लागिरहेँ ।

विसं २०६६ देखि व्यावसायिक रुपमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका उहाँले आठ रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाउनु भएको छ । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु ८ लाखभन्दा बढी कमाइ हुने गरेको उहाँले बताउनुभयो ।
“यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझँे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ,” घिमिरेले भन्नुभयो “उमेर ढल्केपछि मलाई चेत आयो तर मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।”अहिले घिमिरेको खेतबारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ । दुई भाइ छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

तरकारी बिक्री गरेर सरदर मासिक रु ८० हजार कमाइ हुन थालेपछि घिमिरे परिवारले मुग्लानको बाटोमा सधैँभरिका लागि बन्द गरेका छन् । उहाँले भन्नुभयो, “आफ्नै माटोमा पैसा फलाउन सकिने उपाय मैले मेरो परिवारलाई पनि सिकाएको छु, त्यसैले उनीहरुका लागि पनि पैसा कमाउन भनेर कहिल्यै विदेश नपठाउने मेरो सोचाइ छ ।”
घिमिरेले अहिलेसम्म कुनै पनि सङ्घ संस्था वा सरकारी निकायबाट तरकारीखेतीसम्बन्धी तालीम नलिएको बताउनुभयो । “सिकाइ अनुभव नै मेरा लागि तालीम र अवसर दुवै बन्यो” उहाँले भन्नुभयो ।

राज्यले अनुदानको व्यवस्था गरे अझै तरकारीखेती विस्तार गर्ने घिमिरेको सोच छ । पानीको अभाव हुँदा सार्वजनिक कुवाबाट पानी बोकेरसमेत तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो । घिमिरेकै सिको गरेर धेरैले तरकारी खेती गर्न थालेका छन् । अहिले बञ्चरेढुङ्गाका घर–घरमा करेसाबारी छन् । किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागिसमेत कुनै समस्या छैन । व्यापारी खेतीबारीमै पुग्छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology