• Saturday 25th of July 2026

केरा खेतीबाट मनग्ये आम्दानी


  • गोकर्णेश्वर अनलाइन

शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उहाँले १२ बिघा जग्गामा केरा खेती विस्तार गर्नुभएको छ । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिनुभएको छ ।

लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको चानदेवमा रहेको छ । किसान रानाको खेतबारीमा बढी उत्पादन दिने जी नौ जातको केरा रोपिएको छ ।

रोपिएको केराको बोटमा घडी (फल) लाग्न सुरु भइसकेको छ । “खेतबारीमा रोपिएका सबै केराका बोटमा फल लाग्न सुरु भएको छ,” रानाले भन्नुभयो, “निकै खुसी छु । केराबाट चाहेजस्तो आम्दानी हुनेमा ढुक्क छु ।” केरा खेतीका लागि उहाँले रु १२ लाख लगानी गर्नुभएको छ ।

“आठ वर्षअघि देखि खेतबारीमा थोरै केरा रोप्दै आएको थिए,” उहाँले भन्नुभयो, “खासै गतिलो आम्दानी हात पार्न सकिएन । दुई वर्ष हावाहुरीले खेतमा लगाएको केरा खेती पूरै सखाप पा-यो । हरेस खाइनँ ।”

परम्परागत रुपमा केरा रोप्दा लगानीसमेत उठ्न मुस्किल हुन्थ्यो । कृष्णपुर नगरपालिकामा सञ्चालित व्यावसायिक केरा खेतीबारे आयोजना गरिएको तालिममा सहभागी हुने अवसर किसान रानालाई अवसर जु¥यो । उहाँले केरा खेतीबारे तालिम लिए । तालिममा सिकेको सीपको सदुपयोग गर्दै केरा खेती गर्न थालेपछि रानाको आम्दानी बढ्न थाल्यो ।

“पूँजी बढ्न थालेपछि केरा खेती गर्ने हौसला बढ्दै गयो । त्यसपछि केरा खेतीलाई नै मुख्य व्यवसाय बनाएर काम गर्न थालेको छु । अब विगतको जस्तो घाटा व्यहोर्नु पर्दैन,” उहाँले भन्नुभयो, “केरा खेतीबाटै वार्षिक रुपमा रु १५ देखि रु २० लाखसम्म आम्दानी हुने अपेक्षा राखेको छु ।” एउटै केराको बोटमा १२ देखि १८ दर्जनसम्म केरा फलेको उहाँले बताउनुभयो ।

विगतमा केरा खेतीबाट रु पाँच लाख जति आम्दानी हँुदै आएकामा केरोको क्षेत्रफल बढाएपछि आम्दानीसमेत सोही अनुरुप हुने उहाँ बताउनुहुन्छ ।

किसान रानाको केराप्रतिको लगनशीलतालाई दृष्टिगत गर्दै नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा रु छ लाख बराबरका सामग्री उपलब्ध गराइएको छ ।

उहाँले दुईवटा पावर टिलर, एकवटा टी बोरिङ, रासायनिक मल, विषादी र आठ हजार केराका बोट ५० प्रतिशत अनुदानमा पाउनुभएको छ । अनुदानमा सामग्री पाएपछि राना निकै सन्तुष्ट छन् । “परिश्रम गरेर सफल हुनेलाई समाजबाट वाहवाही पाइने रहेछ,” उहाँले भन्नुभयो, “व्यावसायिक काम गर्ने भएकाले नै कृषि शाखाले बोलाएरै अनुदानमा यति बढी सामग्री दिएको छ ।”

केरा खेती गर्नुअघि किसान रानाले खेतमा धान गहुँ लगायतको खेती गर्दै आउनुभएको थियो । धान खेतीबाट परिवार पाल्नका लागि मात्रै खर्च उठने गरेको थियो । केरा खेतीलाई व्यावसायिक बनाएर अगाडि बढेपछि आम्दानी तीन गुणाले बढेको राना सगर्व सुनाउनुहुन्छ । साधारण लेखपढ मात्रै गर्न जान्ने रानाले व्यावसायिक केरा खेती गरेपछि १० जनाभन्दा बढीलाई रोजगारीसमेत दिनुभएको छ ।

परिवारका सदस्यसँगै केरा गोडमेल गर्न, सिँचाइ गर्न, काटछाँट गर्न, बजार लैजान ठिक्क भएको केरालाई बारीबाट काटेर ट्रकमा राख्ने कार्यका लागि उहाँले युवाहरुलाई अल्पकालीन रुपमा रोजगारी दिँदै आउनुभएको छ । चलनचल्तीको दररेटमा युवाहरुलाई दैनिक ज्यालादारीमा काममा राख्ने गरेको रानाले बताउनुभयो । मोहन वडामै व्यावसायिक रुपमा केरा खेती गर्ने एक्लो किसान भएको वडाध्यक्ष नवल सिंह राना बताउनुहुन्छ ।

“युवाहरुको प्रेरणाको स्रोत भएकाले अरू युवाहरुलाई समेत उहाँको जस्तै कार्य गर्नका लागि प्रेरित गर्न वडा कार्यालयका तर्फबाट कार्यक्रम सञ्चालन गर्नका लागि प्रतिबद्ध रहेको छु,” उहाँले भन्नुभयो, “नगरको नीति तथा कार्यक्रममा समेत एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने कुरा उल्लेख छ । वडाको खेतीयोग्य जग्गाको माटो परीक्षण गरी सोही अनुकूलको खेतीलाई बढावा दिइने छ ।” विगतको जस्तो हचुवाको भरमा अनुदान बाँडेर अनुत्पादक क्षेत्रमा लगानी नगरिने उहाँ बताउनुहुन्छ ।

नगरपालिकाको कृषि शाखाका प्रमुख करनबहादुर बुढाऐरले व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहित गर्नका लागि आउँदो आवमा समेत कृषि उपकरण, औजार, रासायनिक मलखाद, विषादी, उन्नत बीउलगायत आधुनिक कृषि प्रविधिमा अनुदानका कार्यक्रमलाई निरन्तरता दिने बताउनुहुन्छ ।

“मोहन जस्तै अन्य वडामा समेत सफल किसान तयार गर्नका लागि तालिम, अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्छांै,” उहाँले भन्नुभयो, “कामको आधारमा मात्रै उपयुक्त अनुदान लगायतका कार्यक्रम सञ्चालन हुन्छन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology